मान्छेले दुःख पर्दा भगवान् सम्झिन्छ । गुनासो गर्छ –मलाई किन दुःख दिएको भगवान् ? मेरो के गल्ती थियो ? यो आमप्रवृत्ति हो ।
अध्यात्म विज्ञानका व्याख्याता डा. जयप्रकाश अग्रवाल भने दुःख गर्दा भगवान् सम्झिने प्रवृत्ति उल्टो भएको बताउनुहुन्छ । उहाँ सुझाव दिनुहुन्छ, ‘दुःख नपर्दै भगवान् सम्झिने हो भने दुःख नै आउँदैन ।’
सृष्टिको उत्कृष्ट सिर्जना भए पनि मान्छेले यो सत्यलाई किन जान्न/बुझ्न सकेको छैन ? सबै मान्छे दुःखबाट मुक्ति मिल्ने सुल्टो बाटो किन हिँड्न सकिरहेका छैनन् ?
गत शनिवार नेपाल मानव धर्म सेवा समिति काठमाडौंले आयोजना गरेको भर्चुअल अन्तक्र्रिया कार्यक्रममा डा. अग्रवालले यसबारे प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘मानव सृष्टिको उत्कृष्ट सिर्जना हो । मान्छेसँग विशेष बुद्धि छ, विवेक छ । तर मानवले यसबारे भरपूर प्रयोग नगर्दा दुःख पाइरहेको छ ।’
उहाँले थप भन्नुभयो –
– मान्छे र पशुबीच फरक भनेको बुद्धि, विवेक मात्रै हो । अन्य शारीरिक अंगमा खासै फरक छैन । बुद्धि, विवेक विना मान्छे पनि पशु समान नै हो ।
– मान्छेसँग विशेष बुद्धि छ । तर हामीले त्यसको प्रयोग गरिरहेका छैनौं । मान्छेको बुद्धिमा १ हजार ६०० करोड न्युरोन छ । एउटा न्युरोनले लाखौं ‘कनेक्सन’ गर्न सक्छ ।
– मान्छेको बुद्धि नै सृष्टिको विशेष सिर्जना हो । बुद्धिमा बुझ्ने क्षमता, सोच्ने र छलफल गर्ने लगायत सय गुण छन् । पशुपन्छी र चराचुरुङ्गीमा विशेष गुण छैनन् ।
– हामीसँग भएको बुद्धिलाई हामी उपयोग गर्दैनौं । त्यसपछि अप्ठ्यारो पर्दा भगवान्लाई, समाजलाई दोष दिन्छौं । खै भगवान्ले ममाथि के गर्यो ? खै समाजले के गर्यो ? खै नेताहरूले के गर्यो ? भन्छौं हामी ।
मान्छेले आफूसँग भएको बुद्धि कसरी प्रयोग गर्ने त ? यसको आध्यात्मिक विधि के हो ? ‘मान्छेसँग भएको बौद्धिकको क्षमताको ५% मात्रै अधिकतम प्रयोग भएको विज्ञानको अनुसन्धानले पत्ता लगाएको छ,’ डा. अग्रवालले भन्नुभयो, ‘भौतिक विज्ञानले शतप्रतिशत बुद्धि प्रयोग गर्ने विधि पत्ता लगाएको छैन । अध्यात्म विज्ञानसँग बौद्धिक प्रयोग बढाउने विधि छ ।’
विज्ञानले पहिचान गर्न नसकेको मन र आत्मासम्म अध्यात्मको पहुँच रहेको उहाँले बताउनुभयो । बुद्धि, मन, आत्मा र परमात्माबारे अध्यात्मसँग थप के–के छ ?
– भौतिक विज्ञानलाई मान्नेहरू मन छैन भन्छन्, उहाँहरू बुद्धिमै सीमित छन् । तर अध्यात्मले मनको पहिचान, नियन्त्रण र परिचालनको प्रयोगात्मक विधि सिकाउँछ ।
– केही मान्छेले अध्यात्म र धर्म बुढेकालमा ६० वर्ष नाघेपछि गर्ने कुरा हो भन्छन् । धर्मलाई नजान्दा हामीले बुद्धि र मनबीच सन्तुलन मिलाउन सक्दैनौं । शरीर असन्तुलित हुँदा हामीले ठीक हिसाबले काम गर्न र जीवन चलाउन सक्दैनौं । त्यसैले शारीरिक र मानसिक सन्तुलन कायम गर्न हामीले धर्म र अध्यात्मलाई २० वर्षमुनिकै उमेरमा थाहा पाइसक्नुपर्छ । मेरो एउटा खुट्टामा समस्या भयो भने अर्काे खुट्टाले समेत काम गर्न पाउँदैन, अनि बुढेसकालमा उपचार गर्छु भनेर बसेर हुन्छ त ?
– हामीले हरेक कामलाई सफल पार्न ध्यान दिनुपर्छ, एकाग्र हुनुपर्छ । यो कसरी हुने ? यसको विधि के हो ? अध्यात्मले सिकाउँछ । चञ्चले मनलाई एकाग्र बनाउने तरिका अध्यात्मसँग छ । मनको एकाग्रताले समझदारी बढाउँछ ।
– कतिपयले विभिन्न शास्त्र पढ्नुलाई नै धर्म र अध्यात्म भनेर बुझ्छन् । तर सैद्धान्तिक कुरा अध्यात्म विज्ञान होइन, अध्यात्म विज्ञान प्रयोगात्मक हुनुपर्छ ।
– अहिले कलिकालमा जति पैसा कमाए पनि, नेता बने पनि मानसिक सन्तुष्टि हुँदैन, विद्वान् भए पनि मानसिक सन्तुष्टि हुँदैन । अझै पाउँ, धेरै गरुँ भन्ने हुन्छ । हाम्रो मनले अनन्ततालाई खोज्छ । मनले खोजेको अनन्तता अध्यात्मले प्रदान गर्छ ।
– मनलाई नियन्त्रण गर्न र एकाग्र बनाउन ध्यान गर्नुपर्छ । तर कुन ध्यान सिक्ने ? संसारमा धेरै छन् सिकाउने । सबैले आफू नै ठीक भन्छन् । धेरै बाटा छन् । कुन सिक्ने ? कतिपयले बाटा धेरै भए पनि पुगिने गन्तव्य एकै हो पनि भन्छन् । तर यसको बाटो एकै छ । त्यो बाटो भनेको हामी सबैले आमाको गर्भमा हुँदा गरेको ध्यान हो । बाहिर आएपछि त्यो बिर्सियौं ।
– सनातन धर्ममा व्रतबन्धको परम्परा छ, जसलाई उपनयन संस्कार पनि भनिन्छ । वास्तवमा गर्भको ध्यानलाई पुनः सिकाउने परम्परा थियो उपनयन संस्कार । तर यो पनि अहिले औपचारिक भएर बसेको छ । संसारबाट जब सत्य अन्त्य हुन्छ, तब महापुरुष आउँछन्, बुद्ध, क्राइस्ट, राम, कृष्ण आए । उहाँहरूले मेरो–तेरो धर्म भन्नुभएन । गर्भमा गरेको ध्यान सिकाउँछन् । त्यहाँ प्रयोगात्मक मात्रै छ, थ्योरी छैन ।
– उपनयन भनेको तेस्रो आँखा खोल्ने हो । तेस्रो आँखा बन्द भएकाले हामी अँध्यारो देख्छौं, आँखा बन्द गर्दा । तेस्रो आँखा खुलेपछि लाइट देख्ने हो, कल्पना गर्ने होइन । गर्भमा बच्चा तेस्रो आँखा खुलेर उज्यालो देख्छ । जन्मिएपछि बाहिरका आँखा बढी प्रयोग गर्दा भित्रि तेस्रो आँखा बन्द हुने हुन्छ । १२ वर्षको उमेरमा उपनयन संस्कार तेस्रो आँखा खोल्ने प्रक्रिया हो । तर अहिले मुख्य विधि हराएर कर्मकाण्डमा सीमित भएको छ ।
– कतिपयले ध्यान अभ्यास गरेपछि तेस्रो आँखा खुल्ने हो भन्छन् । तर तेस्रो आँखै नखुली प्रयोगात्मक ध्यान के गर्ने ? भगवान् श्रीकृष्णले अर्जुनको तेस्रो आँखा खोल्नुभयो युद्धको मैदानमा । अभ्यासको कुरा गर्नुभएन, पहिला तेस्रो आँखा खोल्नुभयो र विराट स्वरूपको दर्शन गराउनुभयो । अध्यात्म सिकाउने गुरुले तेस्रो आँखा तत्कालै खोलिदिन्छन् । त्यसलाई अभ्यास गर्दै गएर मोक्ष प्राप्त गर्ने हो ।
– बच्चाले गर्भमा गर्ने ध्यान भाषा, अक्षरबाट टाढा छ । बच्चा गर्भमा हुँदा ‘लजिकल ब्रेन’ थिएन, भाषा थिएन, पुस्तक थिएन, त्यतिबेला के ध्यान गर्यो होला ? के ज्ञान थियो ? हो, त्यही ज्ञान र ध्यान सद्गुरुबाट प्राप्त गरेर अभ्यास गर्दा बुद्धि, मन, आत्मा र परमात्मालाई जान्न सकिन्छ । बौद्धिक क्षमताको प्रयोग बढाउन सकिन्छ ।
अन्तक्र्रिया कार्यक्रममा जिज्ञासा बढ्दै गयो । एक सहभागीले सोध्नुभयो – ध्यान कसरी सिक्ने ? कसरी गर्ने ? भगवान् श्रीकृष्णले अर्जुनलाई रणमैदानमै तेस्रो आँखा खोलेर विराट स्वरूपको दर्शन गराउनुभएको प्रसंगले झनै कौतुहलता बढाएको थियो । डा. अग्रवालले अहिले पनि त्यसैगरी तेस्रो आँखा खोल्न सकिने बताउनुभयो । डा. अग्रवालले अगाडि भन्नुभयो –
– तेस्रो आँखा खोल्नु भनेको ‘सर्जिकल अपरेसन’ जस्तै हो । तर डाक्टरले अपरेसन गर्नुअघि ‘ब्लड प्रेसर’ लगायत जाँच गर्छ, किसानले खेती गर्नुअघि माटो जाँच गर्छ । त्यसरी नै आत्मज्ञान दिएर तेस्रो आँखा खोल्ने गुरुले जिज्ञासुको जाँच गर्नुहुन्छ ।
– जिज्ञासुले धर्मशास्त्रमा व्याख्या गरिएको आत्मज्ञान र ईश्वरबारे जानकारी राख्नुपर्छ । आत्मज्ञान भनेको के हो ? यसको महत्त्व, गाम्भीर्यता, प्रयोग र उपयोगिताबारे थाहा हुनुपर्छ । यी कुरा स्पष्ट भइसकेपछि आत्मज्ञान प्राप्त हुन्छ । धर्मशास्त्रमा व्याख्या भए अनुसार प्रकाशस्वरूप ईश्वरको दर्शन गराउन सक्ने गुरु नै सद्गुरु हुनुहुन्छ । जसले आँखा बन्द गरेर प्रकाश दर्शन गराउनुहुन्छ (कल्पना गर्ने होइन, प्रत्यक्ष देख्ने हो), उहाँलाई नै गुरु मान्नुपर्छ । अन्यत्र गुरु नभेटिए नेपाल मानव धर्म सेवा समितिमा सम्पर्क राख्न सकिन्छ ।
अन्तक्र्रियामा डा. अग्रवालले बुद्धि, मन र आत्माबारे थप व्याख्या गर्नुभयो । ‘आत्मा अभौतिक तथा शरीर र बुद्धि भौतिक हुन् । बुद्धि र आत्माको बीचमा मन जोडिएको छ । मन भौतिक र अभौतिक दुवै हो । यसले जोड्छ, यो ‘कनेक्टर’ हो,’ उहाँले भन्नुभयो, ‘जसरी विद्युत् लाइनबाट आउने ऊर्जालाई रोकेर आवश्यक मात्रामा मात्रै बल्ब, पंखा लगायत उपकरणमा पुर्याउन ऊर्जा कन्ट्रोल गर्ने उपकरण जोडिएको हुन्छ, त्यसैगरी आत्माको ऊर्जा नियन्त्रण गर्ने काम मनले गर्छ । आत्मासँग अनन्त शक्ति छ, त्यो शक्ति सिधै शरीरमा गए एकछिन पनि थाम्न सक्दैन । आत्मामा रहेको शक्तिलाई मनले अभौतिकबाट भौतिक बनाएर बुद्धिमा पठाउँछ ।’
एक अर्का सहभागीले सोध्नुभयो, ‘गर्भमा रहँदा बच्चाले पराभौतिक ध्यान गरेको प्रमाण के छ ?’ डा. अग्रवालले जवाफ दिनुभयो, ‘आत्मज्ञान प्राप्त गरेका र त्यसलाई जानेका व्यक्तिहरूले बच्चाको हाउभाउ हेरेर प्रस्ट थाहा पाउँछन् । अरुले पनि केही संकेत बुझ्न सक्छन् । बच्चाहरू उज्यालो र संगीतमा रमाउँछन्, रोइरहेको बच्चालाई उज्यालो देखाउँदा र मोबाइलमा संगीत बजाइदिँदा त्यो रमाउँछ, गर्भमा हुँदा प्रकाश र अनहदनादको ध्यान गरेका कारण नै बालक यी कुरामा रमाउने हो ।’
अध्यात्ममा सांसारिक मुक्तिको विषय धेरै सुनिन्छ । मुक्ति के हो ? मुक्ति कसरी पाइन्छ ? अन्तक्र्रियामा प्रश्न उठ्यो । डा. अग्रवालले भन्नुभयो, ‘मनको बन्धन तोडेको दिन मुक्ति पाइन्छ । आत्मा मनको बन्धनमा छ र त्यो बन्धन तोडेको दिन अनन्ततामा लिन भइन्छ ।’
मान्छे दुःखी किन हुन्छ ? दुःख किन पाउँछ ? ‘दुःखसुखको अनुभूति गर्ने मनले हो । हाम्रो शरीरमा आत्मा यात्रु हो, बुद्धि चालक हो र मन स्टेरिङ । जब गाडीको स्टेरिङ आफैं घुम्छ, चालकको नियन्त्रणमा रहँदैन, त्यतिबेला दुर्घटना हुन्छ । मनलाई बुद्धिले नियन्त्रण गर्नुपर्छ,’ डा. अग्रवालले भन्नुभयो, ‘बुद्धिलाई बलियो बनाउने विधि ध्यानमा छ, ध्यान गर्ने विधि सद्गुरुले आत्मज्ञानबाट सिकाउनुहुन्छ ।’