काठमाडौं । राजधानी काठमाडौं उपत्यकामा जारी लकडाउन बुधवार मध्यरातिदेखि केही खुकुलो हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आदेश जारी गर्दै केही व्यवसाय र कार्य खुकुलो पार्नुभएको हो ।
भदौ ३ गते मध्यरातिबाट लागू गरिएको निषेधाज्ञा भने भदौ २४ गते मध्यरातिसम्म कायम गरिएको छ । काठमाडौं प्रशासनले टेकवे र होम डेलिभरी सेवा खोलेको छ । तर त्यसमा संलग्न व्यक्तिको पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्ने अनिवार्य नियम बनाएको छ ।
होम डेलिभरी सेवाको मापदण्ड भने जिल्ला प्रशासन कार्यालयले छिट्टै जारी गर्ने जनाइएको छ । खाद्यवस्तु, दूध र दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछामासुका पसल बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । यसअघि बिहान सवा ९ बजेसम्म मात्र खोल्न पाइन्थ्यो ।
विकास निर्माणसँग सम्बन्धित पसल दिउँसो २ देखि राति ९ बजेसम्म खुल्ने भएका छन् । छोटो दूरीको ढुवानीका लागि प्रयोग हुने सवारीसाधन पनि दिउँसो २ देखि ९ बजेसम्म चल्न पाउने जनाइएको छ । अत्यावश्यक कामले काठमाडौं प्रवेश गर्दा समेत पीसीआर रिपोर्ट नेगेटिभ चाहिने भएको छ ।
यस्तो छ आदेश –