काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी दिदीको एक गोप्य अडियो रेकर्डिङ सार्वजनिक भएको छ, जसमा दिदी मेरियन ट्रम्प बेरीले आफ्नो भाइ डोनाल्ड झूटा र धोकेबाज भएको आरोप लगाउनुभएको छ ।
दिदी मेरियनले डोनाल्डको कुनै सिद्धान्त नभएको बताउनुभएको छ । ट्रम्पकी दिदीको भनाइ भतिजी मेरी ट्रम्पले रेकर्ड गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मेरी ट्रम्पले नै गत महिना एक पुस्तक प्रकाशित गर्नुभएको थियो, जसमा ट्रम्पको आलोचना गरिएको थियो ।
अडियो रेकर्डमा दिदी मेरियनले भन्नुभएको छ, ‘मेरो भाइ बकबास ट्विट र झूटबाट ईश्वर नै बचाउन्, यो धोकेबाजी र क्रूरता हो ।’ मेरी ट्रम्पले कानूनी दाउपेचबाट बच्न आफ्नी आन्टीको अडियो रेकर्ड गरेको दाबी गर्नुभएको छ ।
राष्ट्रपति ट्रम्पले यो अडियोलाई हलुकासँग लिँदै भन्नुभएको छ, ‘हरेक दिन केही अलग हुन्छ, यसलाई कसले पर्वाह गर्छ ?’
यो रेकर्डिङलाई सबैभन्दा पहिले वाशिङ्टन पोस्ट अखबारले प्रकाशित गरेको थियो, त्यसपछि एसोसिएटेड प्रेसले पनि यसलाई छापेको थियो । यो रेकर्डिङमा दिदीले ट्रम्प प्रशासनको आप्रवासन नीतिको निन्दा गर्नुभएको छ । यो नीति अनुसार सीमा क्षेत्रमा बच्चाहरूलाई हिरासत केन्द्रमा राखिन्छ ।
मेरी ट्रम्पले आफ्नो जीवनी ‘टू मच एन्ड नेभर इनफः हाउ माई फेमली क्रेएटेड द वर्ल्ड मोस्ट डेन्जरस म्यान’मा रहस्य खोल्नुभएको छ, काका डोनाल्ड ट्रम्पले आफ्नो एसएटी परीक्षा दिनका लागि साथीलाई पैसा दिएका थिए ।’
(बीबीसी हिन्दीबाट भावानुवाद)