पाल्पा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो (नामावलीसहित)

काठमाडौं । पाल्पा जिल्लामा मंगलबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ ।

दुर्घटनामा ८ जनाको घटनास्थलमा र २ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

तिनाउँ गाउँपालिका–६ मस्याममा डुम्रेबाट चिदीसतर्फ जाँदै गरेको लु१ज २३७१ नम्बरको जीप मंगलबार दुर्घटना भएको थियो ।

दुर्घटनामा मृत्यु हुनेमा तिनाउँ गाउँपालिका–६ मस्यामकी ६० वर्षीया यनकुमारी पन्त, ३९ वर्षीय रामबहादुर अस्लामी, ६७ वर्षीय कृष्णबहादुर अस्लामी, २८ वर्षीय उर्मिला अस्लामी, रुपन्देहीको बुटवल उपमहानगरपालिका–१४ तामनगरका ७० वर्षीय चन्द्र रणपाल, ६० वर्षीय चुना रणपाल, तिनाउँ–२ खुर्सानेकी २० वर्षीया गीता सुनार, रिब्दिकोट गाउँपालिका–१ ख्याहाका ६६ वर्षीया विष्णुकला कामी, ६५ वर्षीया दिलकुमारी सुनार, रुपन्देहीको देवदह नगरपालिका–५ का २९ वर्षीया दिलमाया जिसी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुगन्ध श्रेष्ठले दुर्घटनामा १६ जना घाइते भएका जानकारी दिए । घाइतको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।

दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...