काठमाडौं । राजधानी काठमाडौंलाई तराईसँग जोड्ने नारायणगढ–मुग्लिन सडकखण्डसँगैको त्रिशुली नदीमा गाडी खसेर दुर्घटना भएको जानकारी पाएपछि यकिन पत्ता लगाउन गोताखोरको टोली परिचालन भएको छ ।
चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुल नजिकबाट त्रिशुली नदीमा गाडी खसेको सूचना पाएपछि गोताखोरको टोली परिचालन गरिएको हो । गोताखोरको टोली डुंगा लिएर त्रिशुली नदीमा गाडी खोजिरहेको छ ।
सोमबार बिहान ४ बजेतिर त्रिशुली नदीमा गाडी खसेको जानकारी मुग्लिन प्रहरीमा आएको थियो । गाडी खसेको जानकारी स्थानीयले दिए पनि थप जानकारी उपलब्ध भएको छैन । प्रहरी निरीक्षक (इन्सपेक्टर) विशाल तामाङले गाडीको खोजी भइरहे पनि फेला नपरेको जानकारी दिए । खोजी कार्य जारी छ ।