राप्ति बस दुर्घटना : मृत्यु हुने संख्या १२ पुग्यो, ८ मृतकको पहिचान (नामावलीसहित)

दाङ । बाँके जिल्लाको नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुबाहक बस दाङको भालुबाङस्थित राप्ति नदीमा खस्दा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक (एसपी) रामबहादुर केसीले मृत्यु हुनेको संख्या १२ पुगेको जानकारी दिए ।

उनका अनुसार हालसम्म ८ यात्रुको मात्र सनाखत भएको छ । अन्य मृतकको सनाखत हुन सकेको छैन ।

शवलाई लमहीस्थित लमही अस्पतालमा राखिएको छ । दुर्घटनामा मृत्यु हुनेमा मकवानपुरको हेटौंडाका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौंको चन्द्रागिरि नगरपालिका–५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारतको उत्तर प्रदेशका ३१ वर्षीय मुने, जुम्लाका ४० वर्षीय मुनबहादुर रावत, बाँकेका २० वर्षीय रामबहादुर हरिजन, रुकुमका २५ वर्षीय दीपक कामी, भारत विहारका ६७ वर्षीय देवेन्द्र राय तथा बाँकेको नेपालगञ्जकी ६० वर्षीया कुसुम बस्नेत रहेका प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएकामध्ये ८ जनाको बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीले बताए । उनका अनुसार ५ वटा एम्बुलेन्समा घाइतेलाई शिक्षण अस्पताल ल्याइएको थियो ।

ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्वलबहादुर सिंहका अनुसार नमस्ते यातायातको भे१ख ३९१२ नम्बरको बस गए राति १०ः३० बजे राप्ति नदीमा खसेको हो ।

प्रहरीले बसका चालक सल्यान घर भएका २८ वर्षीय लालबहादुर नेपालीलाई नियन्त्रणमा लिएको छ ।

सम्बन्धित
Loading...