काठमाडौं । राजधानी काठमाडौं उपत्यकामा आज सर्वाधिक चिसो भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा आज बिहान यस सिजनकै सर्वाधिक न्यूनतम तापक्रम ३ दशमलव ७ डिग्री सेल्सियस मापन भएको छ ।
आजको तापक्रम यस वर्षको जाडो सिजनको अहिलेसम्मकै सबैभन्दा कम रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् । बिहीबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रममा ५ डिग्री सेल्सियस रहेको थियो ।
देशका उच्च पहाडी भेगमा केही दिनदेखि हिमपात भइरहेकाले चिसो अझै बढ्ने सम्भावना छ ।
शुक्रबार कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका १–२ ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि पानी पर्ने सम्भावना तत्काल नरहेको मौसमविद् मानन्धरले बताइन् ।
तराईका धेरै ठाउँहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।