काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज आईतबार राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका १–२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
आईतबार साँझ मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जनाएको छ ।
यस वर्षको मनसुन आज नेपालबाट बाहिरिएको समेत महाशाखाले जनाएको छ । नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ रहेकोमा यस वर्ष १३ दिन ढिलो बाहिरिएको छ । जेठ ३१ गते भित्रिएको यस वर्षको मनसुन १२४ दिन जति नेपालमा रहेको छ । नेपालको पश्चिमी भूभागमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।
हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
सोमबार दिउँसो देशका लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
सोमबार राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागका थोरै र तराईका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
मंगलबार राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टामा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
वर्षा तथा हिमपातका कारण जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधाका साथै चट्याङको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।