यी क्षेत्रमा भोलि र पर्सि वर्षाको सम्भावना, काटेको धान भित्र्याउन आग्रह

काठमाडौं । देशका धेरै ठाउँको मौसम धुम्मिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहानपख चिसो बढ्दै गएसँगै धेरै ठाउँमा हुस्सु–कुहिरो लागेको छ । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव पर्न थालेको जनाइएको छ ।

मौसमविद् प्रतिभा मानन्धरले आज धेरै ठाउँमा बादल लाग्ने सम्भावना रहेको बताइन् । आज आईतबार केहीबेर घाम लागे पनि फेरि बादल लाग्ने उनले बताइन् ।

भोलि र पर्सि पानी पर्ने अनुमान गरिएको छ । खासगरी पश्चिमी क्षेत्रमा भोलि र पर्सि लगातारजसो पानी पर्ने सम्भावना रहेको उनले बताइन् । उनका अनुसार पश्चिमी क्षेत्रको तुलनामा मध्य र पूर्वी क्षेत्रमा कम वर्षा हुने अनुमान गरिएको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव आउँदो बुधबारदेखि हट्दै जाने मौसमविद् मानन्धरले बताइन् । वर्षाको सम्भावना रहेकाले आज धान नकाट्न र हिजोअस्ति काटेको भए भित्याइहाल्न किसानलाई मौसमविद्को सुझाव छ ।

दशैंको फूलपातीअघि नै धान भित्र्याउने तयारीमा किसान रहेका छन् । मौसमविद् मानन्धरले बुधवारदेखि मौसममा सुधार आउने भएकाले त्यसपछि मात्र धान काट्न सुझाव दिएकी छन् ।

सम्बन्धित
Loading...