इन्टरपोलको महासभामा सहभागी प्रहरी महानिरीक्षक कुँवर स्वदेश फिर्ता

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर अष्ट्रियाको भियनामा सम्पन्न इन्टरपोलको ९१औं महासभामा सहभागी भई बिहीबार स्वदेश फर्किएका छन् ।

अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) महासचिवालयको आयोजनामा मंसिर १२ देखि १५ गतेसम्म सञ्चालित महासभामा प्रहरी महानिरीक्षक कुँवरसँगै सहभागी भई इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबरा सहितको टोली स्वदेश फिर्ता भएको हो ।

टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा हार्दिक स्वागत गरे ।

महासभामा नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) नेपालका प्रमुख समेत रहेका प्रहरी महानिरीक्षक कुँवर नेतृत्वको प्रतिनिधिमण्डल तथा इन्टरपोलका अध्यक्ष र महासचिवबीच शिष्टाचार भेटघाट तथा छलफल भएको थियो ।

इन्टरपोलको ग्लोबल आउटरिच एण्ड रिजनल सपोर्ट (जीओआरएस) का प्रतिनिधि तथा भारत, चीन र यूएईका प्रतिनिधि लगायतका विभिन्न मित्रराष्ट्रसँग फरार प्रतिवादीहरू र क्षमता अभिवृद्धि लगायतका विविध विषयमा छलफल तथा द्विपक्षीय बैठक समेत भएको थियो ।

महासभामा सहभागी १९५ इन्टरपोल सदस्य राष्ट्रका एनसीबी प्रमुख तथा प्रतिनिधिहरूबीच विविध विषयमा छलफल भएको थियो ।

महासभाबाट इन्टरपोलको १९६औं सदस्य राष्ट्रको रूपमा द रिपब्लिक अफ पलाउलाई निर्वाचनको माध्यमबाट मान्यता प्रदान गरिएको छ । महासभाले इन्टरपोलको ९२औं महासभा सन् २०२४ मा संयुक्त राज्य बेलायतको ग्लास्गो र ९३औं महासभा सन् २०२५ मा मोरक्कोको माराकेमा आयोजना गर्ने निर्णय गरेको छ ।

इन्टरपोल स्थापनाको १०० वर्षको अवसरमा नेपालको तर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी चुचुरोमा नेपालको राष्ट्रिय झण्डा, इन्टरपोलको झण्डा र नेपाल प्रहरीको झण्डा फहराउन सफल प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीलाई इन्टरपोलबाट विशेष आमन्त्रण भई महासभामा प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

उत्कृष्ट एवं सिर्जनशील लगायतका कार्यक्रमहरू आयोजना गरी इन्टरपोल वार्षिकोत्सवलाई भव्यताका साथ मनाएर अन्तर्राष्ट्रिय प्रहरी समन्वयलाई नयाँ शिखरमा पुर्‍याएकोमा नेपालको तर्फबाट महासभामा सहभागी भएका प्रहरी महानिरीक्षक कुँवर तथा प्रतिनिधि समेतलाई आयोजकबाट धन्यवाद स्वरूप मायाको चिनो प्रदान गरिएको थियो ।

सम्बन्धित
Loading...