प्रहरीले घर गएर श्रीमतीलाई खुशी नपारे कारवाही हुन्छ ? यस्तो छ नियमावलीको प्रावधान

काठमाडौं । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक बेनु कार्कीले ५ जना प्रहरी कर्मचारीलाई सोधेको स्पष्टीकरण यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । स्पष्टीकरणमा सोधिएको छ, ‘तपाईंहरू ६ महिनासम्म पनि कुनै किसिमको बिदा नजानुपर्ने कारण के हो ? तपाईंहरूले गरेको गल्तीको कसूरमा प्रहरी नियमावली २०७१ (संशोधनसहित) बमोजिम कारवाही किन नगर्ने ?’

२०८० पुस २६ गते सोधेको २४ घण्टे स्पष्टीकरणको जवाफ प्राप्त भएर पत्रको निरुपण भइसकेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए । ‘उहाँहरूले स्पष्टीकरण दिएर घर बिदा गइसक्नुभयो,’ उनले भने, ‘उहाँहरू लामो समय बिदा नगएको देखिएकाले घरपरिवारप्रति जिम्मेवार बनाउन स्पष्टीकरण सोधिएको थियो ।’

खोटाङ जिल्लाभित्र कार्यरत प्रहरी सहायक हवल्दार सुविन थक्लुङ लिम्बु, प्रहरी जवानहरू सागर राई, द्वारिका राई, रुपेश तामाङ र अनिल परियारलाई स्पष्टीकरण सोधिएको थियो ।

बिदा सम्बन्धी के छ व्यवस्था ?

प्रहरी नियमावली २०७१ (संशोधनसहित) को परिच्छेद ८ मा बिदा सम्बन्धी व्यवस्था छ । नियमावलीको नियम ७८ मा ८ किसिमका बिदाको व्यवस्था छ । नियमावलीमा भैपरी आउने बिदा, घर बिदा, बिरामी बिदा, किरिया बिदा, प्रसूति बिदा, प्रसूति स्याहार बिदा, सट्टा बिदा र अध्ययन बिदाको व्यवस्था छ ।

खोटाङका प्रहरीलाई सोधिएको स्पष्टीकरण ‘नियम ८०. घर बिदा’सँग सम्बन्धित छ ।

नियम ८० को उपनियम (२) मा ‘प्रहरी कर्मचारीले आफूले पकाएको घर बिदा बढीमा १८० दिनसम्म सञ्चित गरी राख्न पाउने’ प्रावधान छ । प्रहरी कर्मचारीले घर बिदा सञ्चित गर्न पाउने हक हुँदाहुँदै स्पष्टीकरण किन सोधियो ? प्रहरी निरीक्षक कार्कीले भने, ‘त्यो स्पष्टीकरण कारवाही गर्नका लागि सोधिएको होइन, परिवारप्रति जिम्मेवार र जवाफदेही बनाउन सोधिएको हो । प्रहरी कर्मचारीले घर बिदा सञ्चित गर्न पाइन्छ, उहाँहरूले पनि सञ्चित गर्नुभएको छ ।’

प्रहरीले नियमित कामबाट घर बिदा गएर ‘रिफ्रेस’ हुँदा काममा दत्तचित्त भएर लाग्ने भएकाले पनि व्यावहारिक रूपमा घर जान प्रेरित गर्ने गरिएको उनले बताए । ‘उहाँहरूको परिवार आमाबुवा, श्रीमती, छोराछोरी होलान् । परिवार किन हेर्दैनन् ? परिवारबाट टाढा भएर किन बसेका हुन्छन् ? घरै नजानुको कारण के हो ? जान्न खोजिएको हो,’ उनले भने, ‘व्यावहारिकताको पाटो सम्झिनुपर्छ । उसरी प्रहरीलाई बिदा छोडिँदैन, १८ घण्टा काममा पेलाइन्छ, बिदा दिँदैन भन्ने सुनिन्छ । तर बिदा पाइन्छ भन्ने सन्देश पनि दिन खोजिएको हो ।’

खोटाङमा ५०० हाराहारीमा प्रहरी कर्मचारी भए पनि ५ जना मात्रै ६ महिनाभन्दा बढी बिदा नगएका देखिएको उनले बताए ।

घर बिदा नजाँदा प्रहरी कर्मचारीमा पारिवारिक विचलन आउने खतरा रहने गरेको प्रहरी स्रोतले जनाएको छ । ‘कतिपय प्रहरीले कार्यक्षेत्रमा अर्की श्रीमती राख्ने गरेको र घरकी श्रीमतीलाई बेवास्ता गर्ने गरेका घटना पनि यदाकदा सुनिन्छन्,’ स्रोतले भन्यो, ‘प्रहरी कर्मचारीले संगठनको काम सँगसँगै पारिवारिक कर्तव्य पनि बहन गर्नुपर्छ, त्यसैले घर परिवारसँग सम्पर्कमा रहने, घर बिदा पठाउने गरिन्छ ।’

सम्बन्धित
Loading...