टिकटक बन्दबारे दूरसञ्चारले सेवाग्राहीका लागि निकाल्यो नयाँ सूचना !

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्दबारे सर्वसाधारणका लागि नयाँ सूचना निकालेको छ ।

प्राधिकरणले टिकटकको प्रयोग तथा पहुँच भइरहेको भए जानकारी गराउने सम्बन्धमा जरुरी सूचना प्रकाशित गरेको हो ।

आईतबार प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै टिकटक बन्दपछि पनि कुनै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकले कार्यान्वयन नगरेको भए जानकारी गराउन आग्रह गरेको छ ।

सूचनामा लेखिएको छ, ‘दूरसञ्चार ऐन २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायकहरू र मोबाइल सेवा प्रदायकहरूलाई प्राधिकरणबाट निर्देशन दिइसकिएको र सम्बन्धित सबै सरोकारवालाहरूको जानकारीको लागि सूचना पनि प्रकाशन गरिसकिएकोमा प्राधिकरणको निर्देशनको कार्यान्वयन नगरी यदि कुनै इन्टरनेट सेवा प्रदायक वा मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्कबाट अझै पनि टिकटकमा पहुँच पुगिरहेको भए वा टिकटक चलिरहेको वा प्रयोग भइरहेको भए प्राधिकरणको इमेल ठेगाना [email protected] मा इमेल गरी त्यस्तो कम्पनीको बारेमा जानकारी गराउनुहुन इन्टरनेट सेवाग्राहीहरूलाई अनुरोध गरिएको छ ।’

मन्त्रिपरिषद् बैठकले कात्तिक २७ गते टिकटक प्रयोगमा रोक लगाउने निर्णय गरेको थियो । सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सदभाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकाले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने निर्णय भएको थियो ।

सरकारले टिकटक बन्द गरेपछि आलोचना समेत भइरहेको छ ।

सम्बन्धित
Loading...