नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणीको पूजा–आराधना गरिँदै

काठमाडौं । देवीभागवत पुराणमा उल्लेखित आश्विन शुक्ल पक्षका नौ अहोरात्रअन्तर्गत नवरात्र व्रतको दोस्रो दिन आज ब्रह्मचारिणीको पूजा आराधना गरी द्वितीया पर्व मनाइँदैछ ।

हिन्दू धर्मालम्बीहरूले वैदिक विधिमार्फत् द्वितीयाका दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गर्ने गरेका छन् । घटस्थापनाको दिनदेखि शुरू भएको नवरात्रिको दोस्रो दिनको पनि पूजा विधि घटस्थापनाको जस्तै रहेको छ ।

घटस्थापनाको दिन राखेको जमरालाई झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोलाबाट ल्याएको पवित्र जलले जमरामा राखिन्छ । यसरी जमरा राखिएको स्थानको नजिकै जलपूर्ण घडा (कलश) को वरिपरि ९ वटा देवीको स्वरूपको प्रतिमूर्ति मानी पूजा गरिन्छ ।

दोस्रो दिन ब्रह्मचारिणीको पूजा आराधना अनि जलपूर्ण कलशमा पञ्चपल्लव चढाई अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी (सुरक्षा) र महासरस्वती (सृष्टि) को पञ्चोपचारले पूजाआजा गर्ने गरिएको छ ।

सनातन धर्म, संस्कृति अनुसार कलशमै सम्पूर्ण देवी देवता, सागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित हुन्छन् । यसका अतिरिक्त कलश अष्टमंगलका शुभचिह्नहरूद्वारा पूजित भएको पाइन्छ । द्वितीयाका दिन पनि सम्पूर्ण देवीदेवता, तीर्थ, पावनी नदी नाला, सप्त सागर, सप्त द्वीप आदि सबैलाई समाहित गरी दशैं पूजा गरिन्छ ।

नवरात्रका नवमीसम्म प्रत्येक नेपालीहरूका घरघरमा र देवीका मन्दिरहरूमा पहिलो दिनकै बमोजिम भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गरिन्छ र शंख, डमरू, घण्टी आदि बजाइ दूर्गा सप्तशती चण्डी, दुर्गा कवच, श्रीमद् देवीभागवत आदि पाठ पनि पढिन्छ ।

पूजा गरिसकेपछि प्रत्येक दिन बलि चाहिँ अनिवार्य दिनुपर्ने कुरा शास्त्रीय विधानमा उल्लेख गरिएको छ । श्रौतयज्ञानुसार पशु बलि र शाकाहारीहरूले प्रदान गर्ने नरिवल, ऊखु, कुभिण्डो आदि स्मार्तबलि गरी २ प्रकारको हुन्छ । बलि प्रदान गरिसकेपछि कार्य समापन गरिन्छ ।

जमराको रूपमा गहुँ तथा जौको अंकुर लगाउनाले सुख, शान्ति, समृद्धि र स्वास्थ्य लाभ हुने शास्त्रीय मान्यता छ । वनौषधि विज्ञहरूका अनुसार जौका जमरालाई महौषधि भनिन्छ ।

निधारमा विजयादेवीको प्रसाद स्वरूप टीका लगाएर जमरा शिरमा राख्यो भने शिरको पीडा, मानसिक अशान्तिबाट बच्न सकिन्छ । जमराबाट शीतलता एवं नूतनको प्रतिक हो । अंकुरित अन्नबाट भिटामिन, प्रोटिन, क्याल्सियम आदि प्राप्त हुन्छ । स्वास्थ्यको लागि अति उत्तम मानिन्छ ।

माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुशी पार्नको लागि जमरा उमार्ने मान्यता रहेको छ ।

सम्बन्धित
Loading...