काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नर महाप्रसाद अधिकारीको दस्तखत सहितको २० रुपैयाँको नयाँ नोट बजारमा ल्याएको छ ।
राष्ट्र बैंकले साविककै आकार तथा रंगमा संकेत नम्बर ठ–८७ ०००००१ देखि त–१८ ९९९९९९ सम्म गरी २० करोड बराबरको २० रुपैयाँ दरका नयाँ नोट बजारमा ल्याएको छ ।
नयाँ नोटको अग्र भागमा बायाँतर्फ सगरमाथाको चित्र छ भने दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा “२०७९” लेखिएको छ ।
नेपालीको महान् चार्ड बडादशैं नजिकिएसँगै सरकारले यस वर्षको दशैंमा नयाँ नोट क्यूआरमार्फत नै साट्न पाइने व्यवस्था पनि गरेको छ । नेपाल राष्ट्र बैंकले डिजिटल कारोबारलाई प्राथमिकता दिने लक्ष्यका साथ क्यूआरमार्फत नयाँ नोट साट्न पाउने व्यवस्था गरेको छ ।
नयाँ नोट साट्न आउनेले आफूले नोट नबोकी आउँदा पनि हुने राष्ट्र बैंकका कार्यकारी निर्देशक नरेश शाक्यले बताए । नयाँ नोट आवश्यक पर्ने जो कोहीले क्यूआरमार्फत भुक्तानी गरेर राष्ट्र बैंकबाट नयाँ नोट लिन सक्नेछन् ।
नोट साट्ने बैंक तथा वित्तीय संस्थालाई कस्तो व्यवस्था गर्ने भन्ने विषयमा छलफल भइरहेको शाक्यले बताए । सम्भव भएसम्म क्यूआरको विकल्प राख्नलाई पनि बैंक तथा वित्तीय संस्थालाई आग्रह गरिने तयारी छ ।
यस वर्ष पनि सधैंझै १ व्यक्तिलाई १८ हजार ५०० रुपैयाँका दरले नै नयाँ नोट साट्ने व्यवस्था गरिनेछ । ५ देखि १०० रुपैयाँको एक बन्डलमा १८ हजार ५०० रुपैयाँ हुने भएकाले ५, १०, २०, ५० र १०० रुपैयाँका १ बन्डलका दरले नै प्रतिव्यक्तिलाई उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ ।
नयाँ नोट कहिलेदेखि सटही गर्ने भन्ने विषयमा भने राष्ट्रबैंक अहिले आन्तरिक छलफलमा रहेको छ । गत वर्ष राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई भदौ २६ गतेदेखि र सर्वसाधारणलाई भदौ २९ गतेदेखि नयाँ नोट सटही गर्न थालेको थियो ।