काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई मन्त्रिपरिषद् बैठकले खारेज गरेको छ ।
आईतबार दिउँसो बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मूल्यवृद्धि खारेज गरेको हो ।
आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो ।
सरकारको निर्देशनपछि निगमले विज्ञप्ति निकालेर पुरानै मूल्य कायम गर्ने कानूनमन्त्री धनराज गुरुङले बताएका छन् ।
शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थियो ।
निगमले हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाएको थियो । पुरानै मूल्य कायम हुँदा अब ग्याँसको मूल्य प्रतिसिलिण्डर १९९५ रुपैयाँ हुने भएको छ ।