नेकपा दुर्घटना नजिक पुगेको मन्त्री योगेश भट्टराईको खुलासा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले नेकपा दुर्घटना नजिक पुगेको खुलासा गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको असहमतिमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा स्थायी कमिटी बैठक सुरू गरेपछि सामाजिक सञ्जाल ट्विटरमा लेख्दै मन्त्री भट्टराईले दुर्घटनाको खुलासा गर्नुभएको हो ।

मन्त्री भट्टराईले लेख्नुभएको छ, ‘दुर्घटना नजिक देखिन्छ । सबै रोकिऔ । सल्लाहा गरौ ।’

नेकपाभित्र गरिहिँदै गइरहेको विवादमा ओलीले नेकपा स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको सूचना प्रवाह गरेपछि पनि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत बहुमत सदस्य सहभागी भएर बालुवाटारमै स्थायी कमिटी बैठक सुरू भएको छ ।

अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले स्थायी कमिटी बैठक बालुवाटारमै सुरू भएको जानकारी दिनुभयो । पार्टीभित्र विवाद बढिरहेका बेला शीर्ष नेताबीच सहमति नभई स्थायी कमिटी बैठक राख्न नहुने अडानमा प्रधानमन्त्री ओली हुनुहुन्थ्यो ।

प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगायत नेताहरू पार्टीलाई अनिर्णयको बन्दी बनाउन नहुने भन्दै बैठक सञ्चालन गर्दै प्रक्रियामा अगाडि बढ्ने निष्कर्षमा पुग्नुभएको छ । नेकपाभित्र प्रचण्ड समूहले ओलीको राजीनामा माग्दै आएको छ ।

अहिले चलिरहेको स्थायी कमिटी बैठकमा ४४ मध्ये २५ जनाको सहभागिता रहेको जनाइएको छ । बैठकमा प्रवक्ता नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा लगायत नेताहरू समेत सहभागी हुनुहुन्छ ।

सम्बन्धित
Loading...