सुवास नेम्वाङ संविधान निर्माता मात्रै होइन, बहुप्रतिभाका धनी हुनुहुन्थ्यो : विष्णु पौडेल

धनगढी । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले स्व. सुवास नेम्वाङलाई संविधान सभाको नेतृत्वकर्ता मात्रै नभई बहुप्रतिभाका धनीका रूपमा स्मरण गरेका छन् ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश समितिले मंगलबार धनगढीमा आयोजना गरेको ‘सुवास र संविधान’ विषयक कार्यक्रममा प्रमुख वक्ताको रूपमा बोल्दै पूर्व उपप्रधान तथा अर्थमन्त्री समेत रहेका उपाध्यक्ष पौडेलले नेम्वाङको निधनले नेपाली राजनीतिक क्षेत्रमा अतुलनीय क्षति पुगेको बताए ।

उनले भने, ‘सुवास नेम्वाङ संविधान सभाका नेतृत्वकर्ता हुनुहुन्थ्यो नै, उहाँमा जस्तोसुकै असहज परिस्थितिको सामना सालिनतापूर्वक गर्ने सामर्थ्य थियो । फरक–फरक सिद्धान्तका राजनीतिक दलहरूका बीचमा राष्ट्रिय सहमतिका लागि तयार पार्ने प्रतिभा उहाँमा थियो ।’

उनले दिवंगत उपाध्यक्ष सुवास नेम्वाङसँगका अन्तरंग कुराहरू उल्लेख गर्दै एमालेभित्र मात्रै होइन, देशले नै कुशल नेतृत्व गुमाएको बताए । उपाध्यक्ष पौडेलले नेम्वाङ नेपाली राजनीतिमा सहमति, सहकार्य र एकताका पर्यायका रूपमा स्थापित भएका पनि बताए ।

नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज छविलाल विश्वकर्माले सुवासको निधनले ठूलो क्षति पुगेको बताए । उनले भने, ‘मलाई उहाँको तस्वीर हेर्दा कतै ‘माननीय सदस्यहरू’ भनिहाल्नु हुन्छ कि जस्तै भइरहेको छ । उहाँको तस्वीर हेर्दा, कतै बोलिहाल्नु पो हुन्छ कि भन्ने लागिरहेको छ तर त्यो सत्य हो, उहाँले भौतिक शरीर छोडेर जानुभयो, तर उहाँ हामी माझमै हुनुहुन्छ ।’

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको सुवासमा सबैलाई मिलाएर लैजान सक्ने अद्भूत क्षमता रहेको सम्झिए । ‘नेम्वाङले सभामुख हुँदा राजनीतिक पक्षपात कहिले पनि देखाउनुभएन । उहाँका कर्मले अहिले नेम्वाङ जनजनको मनमा बस्नुभएको छ,’ मुख्यमन्त्री शाहले भने ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टले नेम्वाङ जस्तो सालिन सभामुख अब कहिल्लै नपाइने बताए । ‘उहाँ संविधान सभाको नेतृत्वकर्ता मात्रै होइन, एक सालिन र सभ्य राजनीतिकर्मी हो । उहाँको मनमा कहिल्यै कसैप्रति रिसराग देखिएन, त्यसैले देशले नेम्वाङको कमी कालान्तरसम्म महसूस गरिरहने छ,’ भट्टले भने ।

कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारीले सुवास नेम्वाङले कसैले पनि बिर्सन नसक्ने गरी कामबाटै अमिट छाप छाड्न सफल भएका बताएका छन् ।

सम्बन्धित
Loading...