झलारीमा सुविधासम्पन्न कभर्ड हलको शिलान्यास

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सुविधासम्पन्न कभर्ड हल बन्ने भएको छ ।

नगरपालिकाको १० नम्बर वडामा कभर्ड हल निर्माणका लागि आज मंगलबार शिलान्यास गरिएको छ ।

मंगलबार ऋषि पञ्चमी पर्वको अवसर पारेर नगर प्रमुख (मेयर) रणबहादुर महराले नगरस्तरीय कभर्ड हलको शिलान्यास गरेका छन् । २ करोड ३४ लाख ८८ हजार १०१ रुपैयाँको लागत स्टीमेटमा बन्ने कभर्ड हलको लम्बाइ २८.४५ मिटर र चौडाइ १७.९५ मिटर हुनेछ ।

निर्माणको जिम्मा एसएनएम जयलक्ष्मी जेभी नेपालगञ्जले पाएको छ । कभर्ड हलको शिलान्यास गर्दै मेयर महराले तोकिएकै समयमा काम सक्न निर्माण पक्षलाई निर्देशन दिए ।

चालू आर्थिक वर्षको असार १५ गतेभित्र कभर्ड हल निर्माण गरिसक्नुपर्नेछ । ‘सयममै काम सक्ने निर्माण कम्पनीलाई सम्मान गर्ने र निर्माणमा लापरबाही गर्नेलाई कारबाही गर्नेछौं,’ उनले भने, ‘यो नगर गौरवको योजना हो, गुणस्तरीय काम गरेर समयमै हस्तान्तरण गर्नुहोला ।’ कभर्ड हल नगरपालिकाकै बजेटबाट निर्माण थालिएको हो ।

नगरपालिकाले खेलकुदको पूर्वाधार विकासलाई प्राथमिकता दिएको मेयर महराले बताए । ‘यो कभर्ड हल बनेपछि खेलाडीहरूलाई प्रशिक्षण लिन सहज हुनेछ,’ उनले भने, ‘राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न सकिन्छ ।’

खेलकुदको माध्यमबाट समाजमा रहेका विकृति तथा विसंगति हटाउन सकिने उनले बताए । कभर्ड हलमा बास्केट बल, टेबलटेनिस, ब्याटमिन्टन खेलाउन सकिनेछ ।

सम्बन्धित
Loading...