धनगढी । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुधबार धनगढी आउने कार्यक्रम अन्तिम समयमा स्थगित भएको छ ।
समाजवादी मोर्चाको सन्देश सभामा सहभागी हुन प्रचण्डसहित शीर्ष नेताहरू धनगढी आउने कार्यक्रम थियो । मंगलवार मोर्चाका सुदूरपश्चिमका नेताहरूले पत्रकार सम्मेलन गरेर सन्देश सभाबारे जानकारी समेत दिएका थिए ।
अन्तिम समयमा आएर बुधबार बिहान कार्यक्रम स्थगित भएको जानकारी गराइएको छ । ४ दलीय मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा रहेका छन् ।
प्रधानमन्त्री प्रचण्ड आज बुधबार काठमाडौंका विभिन्न कार्यक्रममा व्यस्त हुने भएकाले धनगढी आउने कार्यक्रम स्थगित भएको हो । नेपाल सरकार र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एसीसी)बीच भएको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) आज बुधबारदेखि कार्यान्वयन गरिँदैछ । एमसीसीको कार्यान्वयन घोषणा कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड अनिवार्य उपस्थित हुनुपर्ने भएकाले धनगढी आउने कार्यक्रम रोकिएको हो ।
एमसीसीको उद्घाटनका लागि एमसीसी मुख्यालयका कार्य सञ्चालन सम्बन्धी उपाध्यक्ष क्यामरुन एलफोर्ड नेपाल आएका छन् ।
मंगलबार लुम्बिनी प्रदेशमा भएको समाजवादी मोर्चाको सन्देश सभामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले यथास्थितिमा एमसीसी कार्यान्वयन गर्न नहुने अडान लिएका थिए । तर त्यसको भोलिपल्टै एमसीसीको उद्घाटनका कारण मोर्चाकै कार्यक्रम स्थगित भएको छ ।
बुधबारका लागि निर्धारित समाजवादी मोर्चाको सन्देश सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र जनता समाजवादी पार्टीका नेता अशोक श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम थियो ।