काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ ।
सरकारले उठाउने आन्तरिक ऋणका रूपमा राष्ट्र बैंकले आइतवार ६ वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्न लागेको छ ।
बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था र सर्वसाधारण नागरिक समेतले विकास ऋणपत्र खरिद गर्न सक्नेछन् । ऋणपत्रको ब्याजदर बोलकबोलका माध्यमबाट निर्धारण गरिनेछ ।
राष्ट्र बैंकका अनुसार ऋणपत्र धितो राखी कर्जा समेत लिन सकिनेछ । भदौ १० गते दिउँसो ३ बजेसम्म बोलकबोल हुने ऋणपत्र भदौ ११ गते सोमवार निष्कासन हुनेछ । अर्धवार्षिक रूपमा ब्याज भुक्तानी हुने ऋणपत्रको साँवा भुक्तानी २०८६ भदौ ११ गते हुनेछ ।
घटीमा ५० हजार रुपैयाँ र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाई ५० हजार रुपैयाँले भाग गर्दा निशेष भाग जाने अंकमा खरिद गर्न पाइनेछ । ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रूपमा मात्र भाग लिन सक्नेछन् । राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले प्रतिस्पर्धीको रूपमा भाग लिन पाउने छैनन् । ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत मात्र हुने जनाइएको छ ।