निजी क्याम्पसलाई सम्बन्धन दिँदै सुदूरपश्चिम विश्वविद्यालय, सूचना गलत भएपछि संशोधन

महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयले निजी र सामुदायिक क्याम्पसलाई सम्बन्धन दिने प्रक्रिया अगाडि बढाएको छ ।

भदौ १ गते सूचना प्रकाशित गर्दै विश्वविद्यालयका रजिस्ट्रारले शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवेदन आह्वान गरेका छन् ।

प्रथम पटक प्रकाशित सूचनामा भदौ १ गतेदेखि १५ गतेसम्म आवेदन दिन सकिने उल्लेख थियो । जुन सूचना विश्वविद्यालयको ‘सम्बन्धन कार्यविधि २०७४’ विपरीत थियो ।

कार्यविधिअनुसार २१ दिने सूचना प्रकाशित गर्नुपर्ने हो । कार्यविधिमा लेखिएको छ, ‘कार्यकारी परिषद्को स्वीकृति बमोजिम सम्बन्धन प्राप्त गर्न चाहने संगठित संस्थाको लागि यस कार्यविधिको अनुसूची १ मा तोकिएको पूर्वाधार तथा मापदण्ड बमोजिम हुने गरी वार्षिक वा सेमेस्टर प्रणाली कार्यक्रमका सम्बन्धमा सम्बन्धनको लागि विश्वविद्यालयले २१ दिने सूचना प्रकाशित गर्नेछ ।’

कार्यविधिमा २१ दिने सूचना भनिए पनि रजिस्ट्रारबाट त्योभन्दा कम दिनको सूचना प्रकाशित भएको थियो । विश्वविद्यालयले ४ दिनपछि मिति संशोधनको अर्काे सूचना प्रकाशित गरेको छ । जसमा आवेदन दिने म्याद भदौ २१ गतेसम्म कायम गरिएको छ ।

विश्वविद्यालयले सम्बन्धन दिने सूचना प्रकाशित गरिसक्दासम्म पनि कुन–कुन विषयमा सम्बन्धन दिन खोजिएको हो ? स्पष्ट पारेको छैन । विश्वविद्यालयले प्रकाशित गरेको सूचनामा संकायहरू मात्रै उल्लेख गरिएको छ । सूचनामा ‘विभिन्न कार्यक्रमको सम्बन्धन लिन’ भनिएकाले विश्वविद्यालयमा सञ्चालनमा रहेका सबै कार्यक्रमका लागि आवेदन दिन सकिने अर्थ लगाउन मिल्ने अवस्था छ । तर विश्वविद्यालयले एकैपटक सबै कार्यक्रममा सम्बन्धन दिनसक्छ त ? भविष्यमा खुल्दै जानेछ ।

सम्बन्धित
Loading...