धनगढीमा गडबडी–१ : उपमहानगरभित्र १ करोड ८१ लाखको हिसाबकिताब गायब !

काठमाडौं । घरायसी लेनदेनमा समेत हिसाबकिताब दुरुस्त राख्ने गरिन्छ । २–४ पैसा गडबडी हुनसक्नेतर्फ सर्वसाधारण सचेत रहन्छन् ।

करोडौंको वार्षिक आयव्यय गर्ने सरकारी निकाय कैलालीको धनगढी उपमहानगरपालिकामा भने हिसाबकिताबमा गडबडी देखिएको छ । त्यो पनि २–४ सय होइन, १ करोड ८१ लाख ५१ हजार २५२ रुपैयाँ गडबडी भएको छ ।

धनगढी उपमहानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएपछि नगर प्रमुख (मेयर) नृपबहादुर वड बनेका छन् र उनकै नेतृत्वमा राजस्व संकलन, बजेट बाँडफाँड, योजना निर्माण र बजेट खर्चको काम भइरहेको छ । स्थानीय सरकारको नेतृत्वमा रहेका वडको कार्यकालमा थुप्रै गडबडी देखिएका छन् । ती गडबडीलाई शृंखलावद्ध रूपमा राम्रोन्युजले बाहिर ल्याउँदैछ, निरन्तर समाचार हेर्दै गर्नुहोला ।

आज पहिलो गडबडीका रूपमा १ करोड ८१ लाख ५१ हजार २५२ रुपैयाँको हिसाबकिताब नमिलेको विषय उठान गरिएको छ । आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदनमा महालेखापरीक्षकको कार्यालयले गडबडी औंल्याएको छ ।

प्रतिवेदनमा महालेखाले लेखेको छ, ‘आर्थिक विवरण नमिलेको – शीर्षकगत गत आर्थिक विवरणमा देखिएको खर्च र बैंक नगदी किताबमा आम्दानी, खर्च र बाँकी एकआपसमा भिडान हुनुपर्दछ । उपमहानगरपालिकाले तयार गरेको आर्थिक विवरणमा आम्दानी, खर्च र बाँकी एकआपसमा भिडान भएको छैन । फरक परेको रकम सम्बन्धमा यकिन गरी हिसाब मिलान गर्नुपर्ने ।’

यस्तो छ शीर्षकगत गडबडी, कुन शीर्षकमा कति ? हेर्नुहोस् तालिका –

हिसाबकिताब गडबडीलाई महालेखाले २०७७ माघ २७ गते प्रारम्भिक प्रतिवेदनमा समावेश गरेर प्रतिक्रियाका लागि धनगढी उपमहानगरपालिका कार्यालयमा पठाएको थियो । तर उपमहानगरले हिसाब मिलाउन नसकेपछि अन्तिम लेखापरीक्षण प्रतिवेदनमा समेत हिसाबकिताब नमिलेको विषय समावेश भएको छ । आम्दानी, खर्च र बाँकी रकमको हिसाब नमिलेपछि महालेखाले कैफियत देखाएको हो ।

हिसाबकिताब गडबडी भएकोबारे प्रतिक्रिया लिन खोज्दा आर्थिक प्रशासन शाखा प्रमुख लेखा अधिकृत सरस्वती जोशीको मोबाइल नम्बर उठेन भने मेयर नृपबहादुर वडको नम्बर धेरै समयसम्म व्यस्त रह्यो । समाचार प्रकाशित भइसकेपछि पनि उपमहानगरबाट प्राप्त प्रतिक्रिया र प्रस्टीकरण प्रकाशित गरिने छ ।

सम्बन्धित
Loading...