सत्ता गठबन्धनभित्र प्रचण्ड र बाबुरामबीच नै यस्तोसम्म टक्कर !

काठमाडौं – सत्तारुढ गठबन्धनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच टक्कर देखिएको छ ।

अमेरिकी सहयोगको एमसीसी परियोजनासम्बन्धी सम्झौता पारित गर्ने कि नगर्ने विषयमा दुवै नेताबीचको टक्कर सतहमा देखिएको हो ।

एमसीसीको पक्षमा रहेका डा. भट्टराईले माओवादी अध्यक्ष प्रचण्डले कुरा चपाउने गरेको आरोप लगाएका छन् ।

शुक्रबार ट्विटरमार्फत प्रचण्डप्रति राजनीतिक प्रहार गर्दै डा. भट्टराईले चुनावी राजनीति मात्र गर्नेले कुरा चपाउने तर्क गरेका छन् ।

प्रचण्डले आफूले एमसीसी पारित गर्ने पत्र नलेखेको स्पष्ट पारेको समाचार ट्विटरमा शेयर गर्दै भट्टराईले जिम्मेवार राजनीतिक नेतृत्वले ‘माछा देखे भित्र हात, सर्प देखे बाहिर हात’ नगर्ने जनाएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रचण्ड र आफूले एमसीसी पारित गर्न साइन गरेर पत्र पठाएको अभिव्यक्ति दिएपछि शुक्रबार प्रचण्डले त्यस्तो पत्र नलेखेको दाबी गरेका थिए ।

प्रचण्डको स्पष्टीकरणलाई जवाफ दिँदै बाबुरामले ट्विटरमा लेखेका छन्, ‘जिम्मेवार राजनीतिक नेतृत्वले ‘माछा देखे भित्र हात, सर्प देखे बाहिर हात’ गर्दैन । मुख्य कुरो कुनै पनि विषय देश र जनताको हितमा छ कि छैन भन्ने हो । यदि छ भने राजनेताले जोखिम मोलेर पनि त्यो कार्य गर्छ र जनतालाई सम्झाउँछ । चुनावी राजनीति मात्र गर्नेले कुरा चपाउँछ !’

डा. भट्टराईले अमेरिकी सहयोगको एमसीसी सम्झौता देशको हितमा रहेकाले पारित गरेर कार्यान्वयन गर्नुपर्ने पक्ष लिँदै आएका छन् । भट्टराई अमेरिकी सहयोग निशर्त लिनुपर्ने पक्षमा देखिएका छन् ।

सम्बन्धित
Loading...