एकै पार्टीका अध्यक्ष र उपाध्यक्षको विवाद झडपसम्म, घाइते भएर अस्पताल भर्ना

काठमाडौं । स्थानीय तहमा अध्यक्ष र उपाध्यक्ष फरक–फरक पार्टीका हुँदा विवाद भएर बोलचाल नै बन्द भएका घटना सार्वजनिक हुने नै गरेका छन् । तर पर्सा जिल्लामा एकै पार्टीका अध्यक्ष र उपाध्यक्षबीचको विवाद झडपको तहसम्म पुगेको छ ।

पर्साको पकहाँ मैनपुर गाउँपालिका कार्यालयमा उपाध्यक्ष कुशुमा देवी लगायत समूहले तालाबन्दी गर्न खोज्दा भएको झडपमा उपाध्यक्ष घाइते हुनुभएको छ ।

उपाध्यक्ष कुशुमाको अध्यक्ष विजयकुमार चौरसियासँग विवाद रहेको छ । स्थानीय तहको निर्वाचनमा दुवै जना तत्कालीन संघीय समाजवादी पार्टी नेपालबाट निर्वाचित भएका थिए । हाल पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी (जसपा) बनेको छ ।

असार ३१ गते सम्पन्न गाउँपालिकाको चौथो गाउँ सभाप्रति असन्तुष्टि जनाउँदै उपाध्यक्ष कुशुमा देवी समर्थकसहित तालाबन्दी गर्न कार्यालय पुग्नुभएको थियो । तालाबन्दी गर्ने क्रममा उपाध्यक्ष कुशुमा देवीको समूह र सुरक्षाकर्मीबीच कार्यालय परिसरमा घम्साघम्सी हुँदा घाइते भएको भन्दै उपाध्यक्ष कुशुमा नारायणी अस्पतालमा भर्ना हुनुभएको छ ।

गाउँपालिका उपाध्यक्ष भएपनि गाउँसभा सम्पन्न भएकोबारे आफूले सञ्चारमाध्यमबाट सुनेको कुशुमाको गुनासो छ । उपाध्यक्ष कुशुमाले अध्यक्ष चौरसियासँग केही माग राख्नुभएको छ ।

कोरोना महामारीमा खर्च गरिएको रकम सार्वजनिक गर्नुपर्ने, लक्षित वर्गका योजना रकम र खर्च शीर्षक सार्वजनिक गर्नुपर्ने, इन्धन खर्चको हिसाब सार्वजनिक गर्नुपर्ने, जेसीबीको आम्दानी, मधुवनी पोखरी र गोनाहा पोखरीको माछा बिक्रीबाट आएको रकम, एम्बुलेन्स सञ्चालनबाट आएको आम्दानी र पछिल्लो २ आर्थिक वर्षमा गाउँपालिका अध्यक्ष विजयकुमार चौरसियाले सेवासुविधाको नाममा गरेको खर्च सार्वजनिक गर्नुपर्ने उपाध्यक्ष कुशुमाको माग छ ।

गाउँपालिका अध्यक्ष चौरसियाले मनोमानी र अपारदर्शी रूपमा बजेट खर्च गर्ने र हिसाबकिताब सार्वजनिक नगर्ने गरेकाले विरोध गर्दै आएको उपाध्यक्ष कुशुमाले बताउनुभयो ।

उपाध्यक्ष कुशुमाको समूह तालाबन्दी गर्न आउँदा अध्यक्ष चौरासिया कार्यालयमा नभएका जनाइएको छ ।

सम्बन्धित
Loading...