काठमाडौं । प्युठान जिल्लामा गएराति भएको ट्रयाक्टर दुर्घटना परेर ७ जनाको मुत्यु भएको छ ।
स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा शनिवार राति लु२च ४२३४ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा रोल्पा रुन्टीगढी गाउँपालिका–५ का २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, २५ वर्षीय कविराम बस्नेत, १९ वर्षीय विरेन्द्र बाठामगर, १९ वर्षीय थमन बाठामगर, त्रिवेणी गाउँपालिकाका चालक २५ वर्षीय कमल कुँवर र उमेर नखुलेका गोवद्र्धन बुढामगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकहरू भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने मजदुर रहेका जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताउनुभयो ।
धरमपानीबाट भिंग्रीतर्फ जाँदै गरेको ट्रयाक्टरमा ८ जना सवार रहेका थिए । जसमध्ये रोल्पाका विशाल थापा मात्र हामफालेर बाँच्न सफल भएका प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो ।
ट्रयाक्टर सडकबाट करीब ५०० मिटर तल खसेको छ । वर्षा भइरहेकाले उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जानकारी दिएको छ ।