काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारी कहिलेसम्म रहन्छ ? कसैलाई थाहा छैन । बरु कोरोनालाई एकपटक नियन्त्रण गरेका देशमा दोस्रो लहर देखिएपछि फेरि देशव्यापी लकडाउन गर्नुपर्ने अवस्था देखिएको छ ।
कोरोनाको दोस्रो लहर बढ्दै गएपछि फ्रान्स सरकारले देशभर दोस्रोपटक लकडाउन घोषणा गरेको छ । देशव्यापी लकडाउन नोभेम्बर महिनासम्म रहने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोले राष्ट्रको नाममा सम्बोधन गर्दै आगामी शुक्रवारबाट लकडाउन लागू हुने जानकारी दिनुभयो । लकडाउन अवधिमा अत्यावश्यक कामबाहेक घर बाहिर निस्किन नपाइने गरी सरकारले कडा नियम लागू गरेको छ ।
लकडाउनका बेला स्वास्थ्य क्षेत्र, स्कूल र उद्योग भने खुला नै रहने छन् भने रेस्टुरेन्ट्स, बार जस्ता व्यवसाय बन्द रहने सरकारले जनाएको छ ।
फ्रान्समा कोरोना संक्रमणका कारण हुने मृत्युको तथ्यांक अप्रिल महिनापछि हाल सबैभन्दा उच्चस्तरमा पुगेको छ । फ्रान्समा मंगलवार मात्रै ३३ हजार नयाँ संक्रमित फेला परेका छन् ।
राष्ट्रपति म्याक्रोले देशमा कोरोना संक्रमणको दोस्रो लहर भयंकर खतराको स्तरमा पुगिसकेको जानकारी दिनुहुँदै पहिलेको भन्दा पनि खतरनाक हुनेमा कुनै शंका नरहेको बताउनुभयो ।
युरोपका धेरै देशमा हाल कोरोना संक्रमणको दोस्रो लहर तीब्ररूपमा बढ्दै गएको छ । धेरै देशले रात्रीकालीन कर्फ्यूको समेत सामना गरिरहेका जनाइएको छ ।
राष्ट्रपति म्याक्रोले राष्ट्रको नाममा सम्बोधन गर्दै महामारीलाई तुरुन्त रोक्नका लागि कठोर बन्नुपर्ने बताउनुभयो । सम्बोधनको क्रममा म्याक्रोले फ्रान्सका अस्पतालका सबै आईसीयू बेड बिरामीले भरिएका समेत जानकारी दिनुभयो । यसअघि गत मार्च महिनामा फ्रान्समा लकडाउन गरेर खोलिएको थियो ।