काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन वाम गठबन्धन (एमाले–माओवादी केन्द्र) को चुनावी घोषणापत्रको ९ नम्बर बुँदामा सबै नागरिकलाई सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने भन्दै लेखिएको छ, ‘स्वास्थ्यसम्बन्धी मौलिक हकको कार्यान्वयन सुनिश्चित गरिने छ ।’
यस्तै नाराहरूका कारण चुनावमा गठबन्धनले बहुमत ल्याएपछि २ पार्टी एकीकरण भएर नेकपा बन्यो । नेकपाको बहुमत रहेको संघीय संसद्ले संविधानमा व्यवस्था भएको निःशुल्क आधारभूत स्वास्थ्य सेवा तथा आकस्मिक स्वास्थ्य सेवा पाउने हक कार्यान्वयन गर्न २०७५ भदौ ३१ मा जनस्वास्थ्यसम्बन्धी ऐन पारित गर्यो ।
ऐनको दफा ४ को ‘ग’ मा सरुवा रोगको निःशुल्क उपचार गर्ने व्यवस्था गरिएको छ । तर संवैधानिक व्यवस्था कार्यान्वयन गर्न बनाएको कानूनविपरीत नेकपा नेतृत्वकै सरकार चाहिँ कोरोना संक्रमणको उपचार खर्च संक्रमित आफैंले व्यहोर्नुपर्ने भन्दै पन्छिएको छ । यसरी नेकपाबाट जनता ठगिएका छन् ।
स्वास्थ्य मन्त्रालयले आईतबार विपन्नबाहेक अन्यको उपचार सरकारले गर्न नसक्ने घोषणा गरेको थियो । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा यस्तो घोषणा आएसँगै सर्वसाधारण, विपक्षी दल र सत्तारूढ दलका नेताहरूले विरोध गरेका छन् । कान्तिपुर दैनिकमा खबर छ ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले यही विषयलाई केन्द्रित गरेर सोमबार साँझ ट्वीट गरेका छन्, ‘नेपाली जनताको बलिदानीपूर्ण महान् संघर्षको परिणामस्वरूप प्राप्त परिवर्तन र त्यसलाई संस्थागत गरिएको नेपालको संविधानको व्यवस्थाविरुद्ध हामी कोही पनि जानु हुँदैन । संविधानका सकारात्मक पक्षहरूको रक्षा गर्दै लोकतन्त्रलाई अझ उन्नत बनाउने दिशामा अघि बढ्नु हामी सबैको जिम्मेवारी हो ।’
स्वास्थ्य मन्त्रालयले गरेको यो निर्णयबारे तत्काल पार्टी बैठक राखेर छलफल हुनुपर्ने उनले बताए । ‘कोरोना संक्रमित झन् बढिरहेका छन्, अबको अवस्था भयानक बन्दै छ,’ उनले भने, ‘सरकारले लिएका नीतिहरूमा समीक्षा गरेर व्यवस्थापनसम्बन्धी थप निर्णय गर्नुपर्ने भएको छ । यस विषयमा पार्टीमा गम्भीर छलफल हुनु जरुरी छ ।’
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मुलुकमा १ जना संक्रमित भएका बेला राष्ट्रिय सभाको चैत २ गतेको बैठकमा भनेका थिए, ‘कोरोनाबाट बिरामी भएको पुष्टि भए उपचारको सम्पूर्ण जिम्मा सरकारले लिन्छ । कोरोना नसार्ने कुराका लागि प्रत्येक नागरिकले सावधानी अपनाऔं भन्ने सरकारको आग्रह हो ।’ ७ महिनाअघि उनले संसद्मा बोलेको रेकर्ड जसले पनि सहजै सुन्न सक्छ । तर संक्रमित बढ्दै जाँदा उनले भनेजस्तो न पीसीआर निःशुल्क भयो, न त आइसोलेसनमा बस्न पाए । हुँदाहुँदा सरकारी अस्पतालमा उपचार समेत संक्रमितले आफ्नै खर्चमा गर्नुपर्ने निर्णय भयो ।
यो निर्णयले पार्टीलाई समेत असर गर्ने नेकपाका नेताहरू बताउँछन् । ‘यो निर्णय पार्टीलाई सिध्याउने खालको छ, जति जना संक्रमित भइरहेका छन्, उनीहरूले सरकारबाट पाएको सेवाको लेखाजोखा राखेका छन्,’ नेकपाका एक स्थायी समिति सदस्यले भने, ‘सरकारले कोरोना नियन्त्रणमा गरेको कामले पार्टीलाई सिध्याउने चिन्ता भयो ।’
सरकारले संविधानमा भएको व्यवस्था कार्यान्वयन गर्दै महामारीका बेला संक्रमितको उपचारमा खर्च गर्नुपर्ने पूर्व अर्थसचिव शान्तराज सुवेदीले बताए । ‘कोरोनाका बिरामीलाई सरकारी अस्पतालमा निःशुल्क नगरेर सरकारले राम्रो काम गरेन, यो आधारभूत स्वस्थ्यसँग जोडिएको र संविधानले प्रत्याभूत गरेको विषय हो,’ पूर्व सचिव सुवेदीले ट्वीटमा लेखेका छन्, ‘सरकारीमा जाने अधिकांश कमजोर, विपन्न र सरकारको आशा गर्ने नै हुन् । यो निर्णयमा पुनर्विचार गर्नुपर्छ । अहिलेको खर्च प्राथमिकता यही हो ।’
सरकारमा रहेका दलले चुनावका बेला जनतामुखी नारा र आश्वासन देखाए । शिक्षा, स्वास्थ्य निःशुल्क हुने उद्घोष गरे र त्यसअनुसार कानुन पनि बनाए । अझ वाम गठबन्धनको घोषणापत्र हेर्ने हो भने त ‘जनमुखी’, ‘समाजवाद’ भन्ने शब्द बग्रेल्ती छन् । आफ्नै जोडबलमा संविधानमा ‘समाजवाद’ शब्द प्रवेश गराएको दल र उसको सरकार जनता संकटमा परेका बेला भने सम्पूर्ण जिम्मेवारीबाट पन्छिएको छ ।
संविधान, कानुन र सर्वोच्च अदालतले दिएको आदेश लत्याउँदै आफूले पूरा गर्नुपर्ने न्यूनतम दायित्व (पीसीआर टेस्ट, संक्रमितको आइसोलेसन र अस्पतालको खर्च) बाट समेत पन्छिएको भन्दै सरकारको विरोध भएको छ । ‘कोरोनाको उपचार अब आफ्नै खर्चमा गर्नुपर्ने भएपछि देशमा सरकार भए पो के, नभए पो के ?’ बिना न्यौपानेले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘पैसा हुनेले त जसरी नि उपचार गर्छन्, मारमा पर्ने आखिर निमुखा जनता हुन् । सरकार बाँच्नु र मर्नुमा केही फरक भयो र ?’ सरगम भट्टराईले ‘सरकारको काम भ्रष्टाचार गर्ने, सुन लुकाउने, कमिसन खाने, कार्यकर्ता पोस्ने, आफ्ना मान्छे नियुक्ति गर्ने, सिंगापुर र अमेरिकामा गएर उपचार गर्ने हो’ भन्दै विरोध गरेका छन् ।
सगुन पोखरेलले सरकारको प्रेस ब्रिफिङ सुन्न मात्रै कर किन तिर्नु भन्दै विरोध जनाएका छन् । ‘कोरोनाबाट मृत्यु भए सरकारले नहेर्ने, कोरोना लागे पैसा जम्मा नगरी हस्पिटलले भर्ना नलिने अनि सरकारको कामचाहिँ के प्रेस ब्रिफिङ मात्रै गर्ने ? हैन हामीले करचाहिँ किन तिरेको रैछ ?’ उनले ट्वीटमा लेखेका छन् ।
प्रमुख प्रतिपक्ष दल कांग्रेसका नेता गगन थापाले स्वास्थ्य मन्त्रालयको यो निर्णयपछि सरकारको काम अब संक्रमितको संख्या गन्ने मात्रै भएको भन्दै व्यंग्य गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कोरोना संक्रमितले आफ्नो उपचार आफैं गर्नुपर्ने, यसरी हरेक दिन यस्तो निर्णय गर्नुभन्दा प्रधानमन्त्रीज्यू बरु सिधै भनिदिनुस् – सरकार स्वयं संक्रमित भएर आइसोलेसनमा रहेकाले अब उपरान्त संक्रमितको संख्या गन्नेबाहेक थप केही नगर्ने जानकारी गराइन्छ ।’
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमितमध्ये सक्नेले तिर्ने, गरीब–असहायले तिर्नु नपर्ने बताए । आईतबार सम्पूर्ण संक्रमितले उपचार खर्च बेहोर्नुपर्ने निर्णय गरेको सरकारले सोमवार तिर्न नसक्नेलाई सघाउ पुर्याउने उद्देश्यले तिर्न सक्नेले जाँच खर्च तिरेर सघाउ पुर्याइदिन उनले आग्रह समेत गरे । राज्यले सक्नेबाट लिने र नसक्नेलाई दिने रणनीति अख्तियार गरेको उनले बताए । विपन्न वर्गका व्यक्तिहरूले अस्पतालको फाराम भरेपछि निःशुल्क उपचार हुने उनले बताए ।
‘हरेक अस्पतालमा विपन्न वर्गको मापन गर्ने एउटा फाराम हुन्छ, त्यसैले कोही त्यस्ता व्यक्ति हुनुहुन्छ भने आफू विपन्न हुँ भनेर भन्नुपर्यो र फाराम भर्नुपर्यो,’ उनले भने । कुनै पनि संक्रमित विपन्न हो वा होइन भनेर छुट्याउन गाह्रो नहुने उनले दाबी गरे ।
असहाय, पीडित, विपन्न दलित, पिछडिएकालाई सुविधा दिने भनिए पनि अनुगमन गर्ने संयन्त्र नहुँदा प्रभावकारी हुन सकेको छैन । पहुँचमा हुनेले सरकारले घोषणा गरेको विपन्न, दलित, पिछडिएकालाई प्रदान गर्ने सुविधा लिने गरेको विगतका कैयौं उदाहरण छन् । नेकपाकी सांसद रामकुमारी झाँक्रीले सरकारी निर्णयको विरोध गर्दै सामाजिक सञ्जालमा लेखेकी छन्, ‘हार मानेको र हात उठाएको हो भने यो तपाईंको असफलता, असक्षमता हो । तपाईं छोड्नुस्, सक्षम मान्छे आएर सम्हाल्छन् ।’