धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा एकपछि अर्काे विवाद सतहमा देखिन थालेको छ ।
केही हप्ताअघि कर्मचारी भर्ना सम्बन्धी विज्ञापनमा विवाद भएपछि छनोट प्रक्रिया स्थगित गरिएको थियो । हेल्थ असिस्टेन्ट पाँचौं तहको कर्मचारी करारमा भर्ना गर्ने विज्ञापन नगरपालिकाले २०८० माघ २९ गते सूचना प्रकाशित गरेर स्थगित गरेको थियो ।
हेर्नुहोस् सूचना –
नगर प्रमुख (मेयर) हेमराज ओझाले एकलौटी गरेको भन्दै नेकपा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिले विरोध गरेका थिए ।
कृष्णपुरमा फेरि नदीजन्य पदार्थ संकलनको विवाद देखिएको छ । कृष्णपुरको ४ नम्बर वडाबाट निर्वाचित वडा सदस्य विकास कुँवरले ग्राभेल ढुवानी गरिरहेका नगरपालिकाकै सरकारी साधनसँग रोयल्टी तिरेको रसिद नभएको भिडियो नै बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।
वडा सदस्य कुँवरले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ कृष्णपुर नगरपालिका नै (९) वटै वडामा ४५ किलोमिटर पानी पिच हुनु राम्रो कुरा हो । यो कामको प्रशंसा हामी नि गर्छौं तर कुरा नगरपालिकाले गर्ने भ्रष्टाचारको रह्यो । राजस्व छली भष्टाचार मात्र नभई कानूनी अपराध हो । प्रमाण तल हेर्नुस् । मेयर सापको अभियान तपाईं नगरपालिका सक्नतर्फ जति लाग्नुहुन्छ, हामी पनि त्यति नै बचाउन मेहनत गर्नेछौं । सेटिङमा खोला खानु होला तर राजस्व छली गर्न पाइँदैन ।’
नगरपालिकाका विभिन्न वडामा पानी पिच गर्ने योजनाका लागि खटिएका सरकारी टिप्पर र ट्रयाक्टरले रोयल्टी नकाटी ग्राभेल ढुवानी गर्ने गरेको भिडियोमा देखिन्छ । वडा सदस्य कुँवरले रोयल्टीको रसिद देखाउन आग्र्रह गर्दा चालकहरूले कागजमा टिप्ने गरेको तर रसिद नकाटेको जवाफ दिएका छन् । नगरपालिकाले आफ्नै लागि ग्राभेल ल्याउँदा पनि रोयल्टी काट्ने निर्णय भएकाले कृष्णपुर नगरपालिका–४ मछेली खोला ग्राभेल संकलन गर्दा रोयल्टी नकाटी घोटाला भइरहेको आरोप लगाए ।
कृष्णपुर नगरपालिका २ नम्बर वडाका वडाध्यक्ष अर्जुन साउँदले रोयल्टीको रसिद नकाटी ग्राभेल बोकेको विषय गम्भीर रहेको बताए । ४५ किलोमिटर सडक पानी पिचका लागि नगरपालिकाले बजेट विनियोजन गरेको अवस्थामा रोयल्टी नकाटी ग्राभेल बोक्नु गलत भएको उनले बताए । ‘नदीजन्य पदार्थको रोयल्टी सबैले काट्नुपर्यो । उल्टै आफैंले राजस्व नकाट्दा ग्राभेल कसरी उठ्यो भन्ने थाहा नै हुने भएन । रोयल्टी भ्याटसँग जोडिने गम्भीर विषय हो । राजस्व छलि गर्ने अधिकार कसैलाई छैन,’ उनले भने ।
कृष्णपुर नगरपालिकाका मेयर ओझाले रोयल्टी काटेरै नदीजन्य पदार्थ संकलन भइरहेको दाबी गरे । तर ग्राभेल बोकिरहेका सरकारी सवारीसाधनले रोयल्टीको रसिद देखाउन सकेका थिएनन् ।
नगरपालिकाका सुपरभाइजर टंक रोस्याराले रसिद राख्ने गरेका कारण ग्राभेलसँगै नदेखिएको हुनसक्ने मेयर ओझाले बताए । ‘रोयल्टीको रसिद नगरपालिकामा आउँछ, वडामा पनि इन्ट्री हुन्छ । रोयल्टी लिने ठाउँमा पनि रसिद काटिन्छ,’ उनले भने, ‘नगरपालिकाका ७ वटा गाडी चल्दैछन्, सुपरभाइजर टंक रोस्याराले हेर्दैछन् ।’ शुक्रबार रोयल्टी काटेका रसिदहरू नगरपालिकाको प्रशासनमा जमा भइसकेका उनले बताए ।
रोयल्टीको रसिद नभएको ट्रयाक्टरलाई ५० हजार रुपैयाँ जरिवाना गर्ने गरिएको मेयर ओझाले बताए । ‘हामीले ग्राभेल ल्याउँदा ठेली काटिएकै देखिएको छ । सरकारी कार्यालयसँग ठेकेदारले किन मान्छ ? निजी भए त लिने/दिने कुरा होला । नगरपालिकाको साधनस्रोतलाई रसिद नकाटी छाड्नुपर्ने कारण केही छैन । लकबूक पनि छ,’ उनले भने, ‘रोयल्टीको रसिद नकाटेको भन्नु राजनीतिक पूर्वाग्रह राखेको हो ।’