महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरभित्र प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनु शाहीले अत्याचार मच्चाएको विषय यतिबेला चर्चामा छ । प्रहरी उपरीक्षक (एसपी) कमल थापाको आडमा इन्सपेक्टर शाहीले मातहत कर्मचारीमाथि हातपात, गालीगलौज र कुटपिट गर्ने गरेको चर्चित घटना बढ्दै गएर नेपाल–भारत सीमा गड्डाचौकी–वनवसा क्षेत्रमा तनावको स्थिति बनेको छ ।
प्रहरी कार्यालयभित्रको अत्याचारबारे महेन्द्रनगरपोष्ट डटकमले समाचार प्रकाशित गरेको छ । प्रहरी कार्यालयभित्र हुने गरेको अत्याचारका विषयमा स्थानीय पत्रकार पुष्कर भट्टले तारन्तार सूचना बाहिर ल्याएपछि प्रहरीले सीमावर्ती क्षेत्र गड्डाचौकीबाट भारतीय गाडीहरू नियन्त्रणमा लियो । अघिपछि भारतीय गाडी नदेख्ने प्रहरीले यतिबेला भारतीय गाडी नियन्त्रणमा लिनुको कारण थियो, पत्रकार भट्ट टूर एण्ड ट्राभल्ससँग सम्बन्धित हुनु । ट्राभल्सअन्तर्गत भारतीय गाडी सञ्चालन हुनु र समाचार लेखेको प्रतिशोध साँध्न प्रहरीले गाडीहरू नियन्त्रणमा लिएको पत्रकार भट्टको आरोप छ । तर आफ्नो ट्राभल्सका गाडी प्रहरीले नियन्त्रणमा लिन नसकेको पत्रकार भट्टले स्पष्ट पारेका छन् ।
प्रहरी कार्यालयभित्रको बेथिति बाहिर ल्याउने पत्रकारमाथि प्रतिशोध साँध्न खोज्दा भारतीय गाडी सञ्चालकहरू आक्रोशित बनेका छन् । हिजोका दिनमा निर्बाध रूपमा चलिरहेका गाडीहरूलाई प्रहरीले एकाएक नियन्त्रणमा लिनु दुःख दिने नियत मात्रै भएको व्यवसायीको आरोप छ ।
प्रहरीको व्यवहारबाट आक्रोशित भारतीय व्यवसायीले सीमावर्ती भारतीय बजार वनवसामा नेपाली बसलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् । महाकाली यातायात बहुउद्देश्यीय कम्पनी प्रालिका उपाध्यक्ष विष्णु कंडेलले नेपाल–भारत मैत्री बसलाई वनवसामा रोकिएको जानकारी दिए । ‘अस्ति नेपाल प्रहरीले सानो त्रुटि देखाएर भारतीय गाडी नियन्त्रणमा लियो, आज भारतीय प्रहरीले नेपाली बस नियन्त्रणमा लियो । पालोपैचो देखियो,’ उनले भने, ‘सीमा क्षेत्रको संवेदनशील विषयमा प्रहरी गम्भीर देखिएन । पत्रकारसँगको विषयमा सबैलाई दुःख दिँदा हामीलाई झमेला भएको छ ।’ महेन्द्रनगरबाट दिल्लीका लागि प्रस्थान गरेको सुप प्र ०२००१ ख ११०० नम्बरको बसलाई भारतीय व्यवसायीले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् । ‘प्रहरीले भारतीयलाई सूचित गरेर कारवाही गर्नुपर्थ्यो, एकाएक नियन्त्रणमा लिनु हुँदैन्थ्यो । सीमा क्षेत्रमा कतिपय कुरा व्यावहारिक परम्परा पनि छन्, ती कुरा ख्याल गर्नुपर्छ,’ उनले भने ।
हाम्रा गाडीहरू चल्न नसक्ने भएमा आन्दोलनमा उत्रिनुपर्ने उनले बताए । ‘आज साँझ दिल्ली जाने गाडी के गर्ने भन्ने निश्चित छैन,’ उनले भने, ‘सामान्य विवादले हाम्रो व्यवसाय नै प्रभावित हुने भयो ।’
कञ्चनपुरका एसपीसँग कुरा गर्न खोज्दा समय नदिएको उनले गुनासो गरे । ‘यहाँको एसपी सापले कुरा गर्न चाहँदैनन्, जुम मिटिङका हुनुहुन्छ भन्ने कुरा आयो,’ उनले भने, ‘यसरी त हामी अरु गाडी पनि रोक्न बाध्य हुन्छौं ।’
भारतीय प्रशासनले व्यवसायीलाई महत्त्व दिएर कुरा सुन्ने गरे पनि हाम्रो प्रशासनले बेवास्ता गरेको उनको गुनासो छ ।
कञ्चनपुर प्रहरीले के गर्यो ?
ट्राफिक प्रहरीले चेकजाँच गरेर कागजात नभएकाहरूलाई मात्रै नियन्त्रणमा लिने गरेको थियो । तर यसपालि प्रहरीले फेला परेका सबै भारतीय नम्बरका गाडीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्याएको थियो ।
प्रहरीले नियन्त्रणमा लिएका ५८ गाडीमध्ये १० गाडी मात्रै कागजात नभएका भेटिए । अरु गाडीलाई सम्झाइबुझाई गरेर छाडिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी प्रकाश डाँगीले जानकारी दिए । ५८ भारतीय जीप–कारमध्ये ४८ सम्बन्धित सवारीसाधन धनीलाई बुझाइएको र कागज नभएका १० जीप–कारलाई भन्सारले जरिवाना तिराएर छाडेको छ ।
प्रवक्ता डाँगीले भने, ‘कागजपत्र भएकालाई हामीले छोड्यौं, नभएकालाई भन्सारले जरिवाना तिराएर छोड्यो ।’
सीमा क्षेत्रमा देखिएको विवादबारे सीडीओ सा’पबाट समन्वय भइरहेको उनले बताए ।