आज राष्ट्रियसभा सदस्य निर्वाचन हुँदै, ५१ उम्मेदवार मैदानमा

काठमाडौं । राष्ट्रियसभा सदस्यका लागि आज बिहीबार निर्वाचन हुँदैछ ।

राष्ट्रिय सभामा आगामी फागुन २० गतेबाट रिक्त हुने २० मध्ये १९ सिटका लागि आज मतदान हुन लागेको छ । बाँकी १ पद राष्ट्रपतिबाट मनोनयन हुनेछ ।

मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । मतदानका लागि ७ प्रदेशमा १–१ मतदानस्थल र २–२ मतदान केन्द्र तोकिएका छन् ।

आयोगका अनुसार १९ सिटका लागि ८ वटा राजनीतिक दलका तर्फबाट ५१ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

निर्वाचनमा प्रदेशसभा सदस्यका लागि सेतो रंगको कागजमा हरियो रंगको निर्वाचन चिह्न सहितको र पालिकाका प्रमुख र उपप्रमुखहरूका लागि सेतो रंगको कागजमा रातो रंगको निर्वाचन चिह्न रहेको मतपत्र छ ।

निर्वाचनमा प्रदेश सभाका ५४९ र पालिका प्रमुख/उपप्रमुख १ हजार ४९८ गरी जम्मा २ हजार ४७ मतदाता रहेका आयोगले जनाएको छ ।

१ प्रदेश सांसद बराबर ५३ र पालिकाको १ जनप्रतिनिधि बराबर १९ मतभार रहेको छ । जसको कूल मतभार ५७ हजार ५५९ रहेको छ ।

आयोगका अनुसार कोशी प्रदेशमा १० हजार १३५, मधेशमा १० हजार ७४४, बागमतीमा १० हजार ३३३, गण्डकीमा ६ हजार ४१०, लुम्बिनीमा ८ हजार ७५३, कर्णालीमा ५ हजार ८४ र सुदूरपश्चिममा ६ हजार १०० मतभार छ ।

२०७४ माघमा निर्वाचित भएर गोलाप्रथाबाट ६ वर्षे कार्यकाल प्राप्त गरेका सांसदको पदावधि फागुन २० गतेबाट सकिन लागेकाले रिक्त हुने स्थानमा आज बिहीबार मतदान हुन लागेको छ ।

सम्बन्धित
Loading...