कोरोना बढेपछि देशभरका बैंकलाई राष्ट्रबैंकको विशेष निर्देशन, ‘वर्क फ्रम होम’ गर्नू ! (सूचनासहित)

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएको भन्दै नेपाल राष्ट्रबैंकले देशभरका बैंकलाई नयाँ निर्देशन जारी गरेको छ ।

बैंक शाखाका कर्मचारीको समूह विभाजन गरी आलोपालो प्रणालीमा काम कारबाही गर्न बैंक तथा वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले आईतबार निर्देशन जारी गर्दै कोरोना महामारीको समयमा विभिन्न स्थानमा लकडाउन कायम नै रहेको भन्दै आलोपालो प्रणालीमा कार्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले बैंकहरुलाई ‘वर्क फ्रम होम’को व्यवस्था मिलाएर काम गराउन समेत निर्देशन दिएको छ ।

‘नेपाल सरकारले देशका विभिन्न स्थानहरूमा लागू गरेको बन्दाबन्दी, निषेधाज्ञा, सार्वजनिक तथा निजी सवारीसाधनको आवागमनमा जोरबिजोर प्रणाली लगायतका विशेष परिस्थितिलाई मध्यनजर गरी वर्क फ्रम होम व्यवस्था मिलाई कार्य सम्पादन गराउन सकिने,’ निर्देशनमा उल्लेख छ ।

प्रदेशस्थित शाखा कार्यालयको हकमा सम्बन्धित प्रदेश सरकार, स्थानीय तह र स्थानीय प्रशासनमार्फत हुने निर्णय वा सूचनालाई समेत आधार मानी प्रदेश कार्यालयसँगको समन्वयमा न्यूनतम कर्मचारीबाट बैंक तथा वित्तीय संस्थाहरुको सेवा सञ्चालन गर्न पनि राष्ट्रबैंकले निर्देशन दिएको छ ।

राष्ट्र बैंकले सेवा सञ्चालन नगरिएका शाखाको विवरण दैनिक रुपमा राष्ट्रबैंकलाई जानकारी गराउन समेत निर्देशनमा उल्लेख छ ।

सम्बन्धित
Loading...