काठमाडौंको बैंक खाताबाटै साढे १६ करोड गायब !

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जको बैंक खाताबाटै झण्डै साढे १६ करोड रुपैयाँ हराएको छ ।

अस्पतालको बैंक नगदी किताबले २०७६ असार मसान्तसम्ममा (मार्गस्थ र नगद ३ लाख रुपैयाँबाहेक) ९८ करोड २७ लाख ७५ हजार रुपैयाँ बैंक मौज्दात देखाएको थियो । सो मितिको बैंक स्टेटमेन्टअनुसार भने ८१ करोड ८३ लाख ६७ हजार रुपैयाँ मौज्दात छ ।

बैंकमा १६ करोड ४४ लाख ८ हजार रुपैयाँ घटी देखिएको छ । घटी देखिएको रकमका सम्बन्धमा छानबिन गरी बैंकमा जम्मा हुनुपर्ने महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

तत्कालीन ग्लोबल बैंकमा २ करोड ६४ लाख ३८ हजार ऋणात्मक मौज्दात देखाएकोमा बैंक विवरण प्राप्त नभएकाले स्थिति जानकारी हुन नसकेको प्रतिवेदनमा जनाइएको छ । अस्पतालका निवर्तमान कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले ग्लोबलमा बैंकिङ कारोबार नगरिएको बताए । ‘खाता नभएको बैंकमा कसरी कारोबार हुन्छ र ?’ डा. खड्गाले भने ।

यसैगरी नेपाल बैंकमा ५ खाता, नबिल बैंकमा १ खाता र हिमालयन बैंकको १ खाता (राहत खाता) मा अस्पतालको स्रेस्ताअनुसार १ करोड ६२ लाख २० हजार मौज्दात थियो । तर बैंकमा ११ लाख ७० हजार मात्र मौज्दात देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

बैंकमा घटी मौज्दात देखिएको सम्बन्धमा छानबिन गरी रकम प्राप्त हुनुपर्ने सुझाव महालेखाले प्रतिवेदनमार्फत दिएको छ । ‘नाम लिइएका ती सबै बैंकमा अस्पतालको आर्थिक कारोबार नै हुँदैन । अस्पतालको खाता होइन जस्तो लाग्छ । धेरै पहिलाको विषय भएकाले मलाई यसबारे धेरै थाहा छैन,’ खड्गाले भने ।

यसैगरी अस्पतालले आयकर ऐन २०५८ बमोजिम भुक्तानीमा करकट्टा गर्नुपर्नेमा ६ करोड ४१ लाख १ हजार रुपैयाँ कट्टी गरेको कर रकम दाखिला नगरी दायित्व देखाएको छ । उक्त रकम राजस्व खातामा दाखिला हुनुपर्दछ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा दिनेश गौतमले लेख्नुभएको छ ।

सम्बन्धित
Loading...