काठमाडौं । ‘पुस्तकरहित शुक्रवार कार्यक्रम’ अन्तर्गत काठमाडौं महानगरपालिकामा १ देखि ८ कक्षासम्म व्यावहारिक/प्रयोगात्मक कक्षा सञ्चालन गर्न इच्छुक संघसंस्थाले विद्यालयमा सूचीकृत हुन पाउने भएका छन् ।
९ र १० कक्षामा गएको शुक्रबारदेखि ‘शिक्षामा सीप’ तालिम कार्यक्रम सञ्चालन भइसकेको छ । विद्यालयले तालिम प्रदायक संघसंस्थाहरूलाई सूचीकृत गरेर सेवा लिन थालेका छन् ।
‘पुस्तकरहित शुक्रबार कार्यक्रम’ गत वर्षदेखि निरन्तर चलिरहेको छ । शिक्षा विभागका प्रमुख सीताराम कोइराला भन्छन्, ‘यसरी सञ्चालन हुने कार्यक्रमका लागि हामीले छुट्टै बजेटको व्यवस्था गरेका छौं । यो बजेट हामी विद्यालयमा पठाउँछौं । विद्यालयहरूले आफैं कार्यक्रम सञ्चालन गर्नेछन् ।’

सूचीकृत हुनेले चालू आर्थिक वर्षको अन्त्यसम्म बिदा र परीक्षाको अवधि कटाएर १५ वटा शुक्रबार शैक्षिक क्रियाकलाप सञ्चालन गर्नुपर्नेछ । हरेक शुक्रबार ६ घण्टाका कक्षा हुनेछन् ।
शहरी योजना आयोगका सदस्य इन्जिनीयर शैलेन्द्र झाले भने, ‘पाठ्यक्रम, दररेटसहित खर्चको प्रस्ताव, कार्यक्रम सञ्चालनका लागि प्रयोग गरिने सामग्रीको विवरणसहित प्रस्तावकले आफूले तालिम सञ्चालन गर्न चाहेको विद्यालय सूचीकृत हुन सक्नेछन् ।’

कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन बाल समूहहरू गठन गरिसकिएको छ । कारागारभित्रका, फरक क्षमता भएका बालबालिकाका लागि सञ्चालन भएका र रात्रीकालीन विद्यालयबाहेक ८१ वटा विद्यालयमा समूह गठन गरिसकिएको छ ।

शुक्रवारको कार्यक्रमका लागि १५ वटा विषय राखिएका छन् । यी हरेक विषयलाई एउटा उपसमूह मानिएको छ । यी उपसमूहमध्ये बालबालिका तथा वातावरण (वावा) र विज्ञान, प्रविधि, इन्जिनीयरिङ, आर्टस र गणित (स्टीम) विषय हरेक विद्यालयका लागि अनिवार्य उपसमूह हुन् । अन्य विषय विद्यार्थीको संख्या लगायत सूचकका आधारमा सञ्चालन गर्न सकिनेछ ।

उपसमूहहरू :–
१) बालबालिका तथा वातावरण (वावा)
२) विज्ञान, प्रविधि, इन्जिनीयरिङ, आर्टस र गणित (स्टिम),
३) म्युरल (भित्तेचित्र)
४) संस्कृति र सम्पदा
५) ट्राफिक व्यवस्थापन
६) विपद् व्यवस्थापन
७) नाट्य समूह
८) व्यक्तित्व विकास
९) उद्यमशीलता सोच
१०) पठन संस्कार
११) योग
१२) संगीत तथा नृत्य
१३) ड्रोन
१४) एनिमेसन र गेमिफिकेसन
१५) कोड
विद्यार्थीको संख्या र रुचि, विद्यालयको परिवेश, शिक्षक, प्रधानाध्यापक र सम्बन्धित सरोकारवालाको सुझावका आधारमा यी विषय तथा उपसमूह निर्धारण गरिएका जनाइएको छ ।
