बिग्रिएको मिठाइ बेच्ने टिपटपलाई काठमाडौं महानगरद्वारा २ लाख जरिवाना

काठमाडौं । उपभोग गर्ने म्याद गुज्रिएर बिग्रिएको दुधवरी मिठाइ बेच्ने टिपटप समोसा पसललाई काठमाडौं महानगरपालिकाले २ लाख रुपैयाँ जरिवाना गरेको छ ।

काठमाडौं महानगरपालिका–१७ नघलको टिपटपले खान नमिल्ने गरी बिग्रिएको दुधबरी बेचेको गुनासो गर्दै उपभोक्ताले महानगर प्रहरी बलमा गुनासो टिपाएका थिए । बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले भने, ‘प्राप्त सूचनाका आधारमा अनुगमन भएको हो ।’

गुनासो आएपछि कृषि तथा पशुपंक्षी विभागका प्रमुख एवं निरीक्षण अधिकृत डा. अवधेश झा नेतृत्वको अनुगमन टोली पसलमा पुगेको थियो ।

‘फाटेको दूधमा दुधवरी बनाइएको पाइयो । पसलमा बस्ने व्यक्तिहरूमा शिष्टाचार थिएन । रुखो र अशिष्ट बोलीचाली थियो,’ निरीक्षण अधिकृत डा. झाले अवस्थाका विषयमा भने, ‘उचित तापक्रममा नराखेका कारण दूध फाटेको र त्यही फाटेका दूधमा मिठाइ बनाएको पाइएपछि कारवाही गरिएको हो ।’

उनले अनुगमनका क्रममा करीब ५ किलोग्राम बिग्रिएको मिठाइ उत्पादक आफैंलाई नष्ट गर्न लगाइएको बताए । जरिवानासँगै मिठाइ पसलमा राखिने खानेकुरालाई तापक्रम मिलाएर भण्डारण तथा बिक्री व्यवस्था मिलाउने, खानेकुराको गुणस्तर कायम गराउने, बिग्रिएका सामग्री बजारमा पठाइएको भए फिर्ता ल्याएर नष्ट गर्न निर्देशन दिइएको छ ।

सम्बन्धित
Loading...