जिउँदै श्रीमानको मृत्युदर्ता बनाएर एकल भत्ता खाने महिलाको पोल खुल्यो, अब भ्रष्टाचार मुद्दा

काठमाडौं । जिउँदै श्रीमानको मृत्यु दर्ता बनाएर एकल भत्ता खाने महिलाको पोल खुलेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती महिला र भत्ता दिने वडा सचिवविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

रामेछापको मन्थली नगरपालिका वडा नम्बर ३ का तत्कालीन वडा सचिव शिवकुमार महतो र महिला निर्मला खत्रीलाई विपक्षी बनाएर अख्तियारले मुद्दा दायर गरेको छ ।

भत्ता खाने महिलाका श्रीमानले नै आफू जीवितै हुँदै मृत्युदर्ता प्रमाणपत्र बनाएर श्रीमतीलाई एकल महिला भत्ता खुवाएको भन्ने उजुरी परेपछि अख्तियारले छानबिन गर्दा पोल खुलेको हो ।

छानबिनमा क्रममा महतो र खत्रीको मिलेमतोमा नक्कली मृत्युदर्ता प्रमाण पत्र बनाएर निर्मला खत्रीको सामाजिक सुरक्षा भत्ता (एकल महिला) परिचयपत्र बनाएको र ४५ हजार २२० रुपैयाँ भत्ता लिएको देखिएकाले भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियारले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

सम्बन्धित
Loading...