काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बनाउ महाअभियानका नाममा बिहीबार काठमाडौंमा प्रदर्शन गरेका व्यवसायी दुर्गा प्रसाईंलाई सरकारले कारवाही गर्ने चेतावनी दिएको छ ।
बिहीबारको प्रदर्शन मूलतः शान्तिपूर्ण रूपमा भएको जनाउँदै जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार तीनकुने क्षेत्रमा भेला भई प्रदर्शन गर्ने कार्यक्रमका लागि अनुमति नरहेको जनाएको छ ।
प्रशासन कार्यालयका प्रवक्ता सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘शान्ति सुरक्षामा गम्भीर असर पार्ने गरी प्रचलित कानून विपरीतका गतिविधि गरेमा कानून बमोजिम कारवाही गरिने हुँदा कुनै पनि प्रकारका गैरकानूनी गतिविधिहरूमा सहभागिता नजनाउनु हुन सम्बन्धित सबैलाई जानकारी गराइएको छ ।’
महाअभियानको कार्यक्रम समापनका क्रममा र पत्रकार सम्मेलनमार्फत उत्तेजक, अराजक, हिंसात्मक, ध्वंशात्मक गतिविधि गर्न उक्साउने र व्यक्तिकेन्द्रित भई घृणाजन्य अभिव्यक्ति दिँदै स्थानीय प्रशासनसँग कुनै समन्वय नगरी भोलिदेखि काठमाडौंको तीनकुने क्षेत्रमा भेलाजम्मा भई निषेधित क्षेत्रतर्फ प्रवेश गर्ने सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने र शान्ति सुरक्षा तथा अमनचयन बिथोल्ने मनसायले कार्यक्रम सार्वजनिक गरेकोमा गम्भीर ध्यानाकर्षण भएको प्रशासनले जनाएको छ ।