काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले कार्यसम्पादनको सिलसिलामा आउन सक्ने सुरक्षा चुनौतीको सामना गर्न प्रहरी कर्मचारीहरूले आफ्नो विवेकको उचित प्रयोगका साथै धैर्य र संयमित भएर सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।
गृहमन्त्रीस्तरको मंसिर ५ गतेको निर्णयले प्रहरी उपरीक्षक (एसपी) बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा पदोन्नति भएका ५ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिह्नद्वारा सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले विवेक प्रयोग गर्नुपर्ने बताए ।
नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित समारोहमा प्रहरी महानिरीक्षक कुँवरबाट प्रहरी वरिष्ठ उपरीक्षकहरू बसन्त रजौरे, रबि कुमार पौडेल, नबिनराज राई, बीर बहादुर ओली र चन्द्रदेव राई दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् ।
प्रहरी महानिरीक्षक कुँवरले सुरक्षा चुनौतीको सामना गर्न तयार पारिएको सुरक्षा योजना तथा नीतिको प्रभावकारी रूपमा कार्यान्वयन गर्दै वर्तमान अवस्थामा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन प्रचलित कानून बमोजिम बल प्रयोगको सिद्धान्तलाई अवलम्वन गर्दै उच्च मनोबलका साथ काम गर्न सुरक्षा व्यवस्थापनमा खटिने प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।
आवश्यकता अनुसार अन्य सुरक्षा निकायसँग आपसी समन्वय र सहकार्य गर्नुपर्नेमा उनले जोड दिए ।
सम्बोधनकै क्रममा प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई बधाई दिँदै पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई उकृष्टताका साथ निर्वाह गर्न निर्देशन दिए । संगठनप्रति बफादार, इमान्दार र निष्ठावान भएर काम गर्ने हरेक प्रहरी कर्मचारीहरूलाई संगठनले उचित तवरले मूल्यांकन गरेको चर्चा गर्दै संगठनको नीति अनुरूप सम्पूर्ण प्रहरी कर्मचारीहरूको समस्या र गुनासो सम्बोधन गर्दै व्यवस्थापन गर्न संगठन क्रियाशील रहेको बताए ।
आफूमा रहेको पेशागत ज्ञान, सीप र कौशललाई पूर्णरूपमा प्रयोग गरी आ–आफ्नो जिम्मेवारी उत्कृष्ट र व्यवासायिक ढंगबाट सम्पादन गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी वरिष्ठ उपरीक्षक बसन्त रजौरेले पदोन्नतिबाट प्राप्त भएको जिम्मेवारीलाई राष्ट्र, समाज र नागरिकको हितमा समर्पित भई अझ उत्कृष्ट ढंगबाट कर्तव्य निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवं जवानहरूको समेत उपस्थिति रहेको थियो ।