काठमाडौं । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न नयाँ भर्नाका लागि दरखास्त आह्वान गरिएको छ ।
प्रहरी निरीक्षक पदका लागि ९६ जना र प्रहरी सहायक निरीक्षक पदका लागि २६० जना नयाँ भर्नाका लागि दरखास्त आह्वान गरिएको हो ।
प्रहरी निरीक्षक पदमा दरखास्त दिने उम्मेदवारहरूले नेपाल प्रहरीको Online Recruitment Management System (ORMS) मार्फत अनलाइन दरखास्त दिनुपर्नेछ । अनलाइनबाट दरखास्त दिन नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np को Career भित्र Online Application वा https://careers.nepalpolice.gov.np मा गई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा ७ वटै प्रदेश प्रहरी कार्यालयहरूमध्ये एक छनौट गरी फाराम भर्न सकिने छ ।
प्रहरी सहायक निरीक्षक पदमा दरखास्त दिन काठमाडौं उपत्यका प्रहरी शिक्षालय महाराजगञ्ज काठमाडौं तथा ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरू विराटनगर, जनकपुर (हाल राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगञ्ज) र दिपायलमा उम्मेदवार स्वयं उपस्थित भई दरखास्त फारम संकलन तथा दर्ता गर्न सकिने छ ।
नयाँ भर्ना हुन इच्छुक नागरिकहरूले कात्तिक १९ गतेदेखि मंसिर २९ गतेसम्म प्रहरी निरीक्षकको हकमा अनलाइन प्रणालीमार्फत र प्रहरी सहायक निरीक्षकको हकमा सम्बन्धित कार्यालयहरूमा कार्यालय समयभित्र दरखास्त फाराम लिन तथा बुझाउन सक्नेछन् ।
दरखास्त आह्वान सम्बन्धी विस्तृत विवरण सहितको सूचना तथा सम्बन्धित पदको पाठ्यक्रम नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ ।