काठमाडौं । बालबच्चाको भविष्यका लागि आमाबुवाले वर्षाैंदेखि सपना देखेका हुन्छन् र ती सपना पूरा गर्न आवश्यक तयारी पनि गरिरहेका हुन्छन् । छोराको पढाइका लागि भनेर आमाले जीवनभर बचत गरेको पैसा त्यहीँ छोराले प्रेमिकासँग मोजमस्ती गरेर स्वाहा पारेको थाहा पाउँदा आमाको मन कस्तो भयो होला ?
चीनको सिचुआन प्रान्तमा भएको यस्तो घटनापछि आमाले छोराको नाममा मुद्दा नै दायर गरेकी छन् । साउथ चाइना मर्निङ पोस्टमा प्रकाशित समाचारअनुसार ४१ वर्षीय लुईले जीवनभरको कमाइ विदेशमा पढ्ने छोरा १९ वर्षीय जियाओवेईलाई पठाउँदै गइन् तर छोराले पढ्न छाडेर प्रेमिकासँगको मोजमस्तीमा पैसा खर्च गरेको पाइएको छ । विदेशी विश्वविद्यालयमा पढाइ शुल्क तिर्न पठाइएको पैसा विश्वविद्यालयमा नबुझाएको समेत पाइएको छ ।
लुईले कलिलै उमेरमा पतिसँग सम्बन्धविच्छेद गर्नुपरेको थियो । त्यस्तो अवस्थामा पनि उनले छोरालाई कमी नहोस् भनेर ५ लाख पुआन अर्थात् ९० लाख रुपैयाँ छोरालाई दिएकी थिइन् ।
छोराले त्यो पैसा प्रेमिकालाई पठाएको र खर्च गरिसकेको देखिएपछि आमाले अदालतमा मुद्दा दायर गरेकी छन् । उनले प्रेमिकालाई ३५ लाखको कार किनेर गिफ्ट दिएका छन् भने अरु लाखौं पैसा घुमफिरमा खर्च गरेका छन् ।
चिनियाँ अदालतले फैसला सुनाउँदै बाँकी रहेका पैसा आमालाई नै फिर्ता गर्न आदेश दिएको छ । अब आमाले छोरालाई अत्यावश्यक पैसा मात्रै मासिक रुपमा पठाउनुपर्नेछ, एकमुष्ट रुपमा धेरै पैसा नदिन अदालतले आदेश गरेको छ ।