काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले सरोकारवालाहरूसँग छलफलै नगरी अघि सारिएको शिक्षा सम्बन्धी विधेयकले समस्या समाधान नगर्ने बताएका छन् ।
शिक्षा विधेयक संसद्मा दर्ता भएपछि शिक्षकसम्बद्ध संघसंगठनले आन्दोलनको तयारी गरिरहेका बेला सोमबार बिहान सामाजिक सञ्जालमा लेख्दै नेता रिजालले सरोकारवालासँग छलफल गर्न सरकारलाई सुझाव दिए ।
उनले लेखेका छन्, ‘शिक्षकहरूका सरोकारलाई कुनै मतलब नगरी शिक्षा विधेयक अगाडि बढाइएकोमा आक्रोशित भएका शिक्षकहरू लामो समयदेखि आन्दोलनमा छन् । सरकारलाई यस कुराले पटक्कै छोएको छैन । लामो समयदेखि अड्किएको शिक्षा विधेयक अघि बढाउन आवश्यक भए पनि सरोकारवालाहरूसँग छलफलै नगरी अघि सारिएको कानूनको मस्यौदाले समस्या समाधान गर्दैन, तनाव बढाउँछ । अतः मुलकलाई प्रत्यक्ष र दीर्घकालीन प्रभाव पार्ने शिक्षा विधेयकका बारेमा सरकारले अविलम्ब सरोकारवालाहरूसँग छलफल प्रारम्भ गरोस् र उनीहरूका सरोकारलाई सम्बोधन गरोस् ।’
शिक्षकहरूले असोज ३ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेका छन् ।