काठमाडौं । खुला र अनौपचारिक रूपमा बिक्री गरिने दूध र पानीको स्वच्छता तथा गुणस्तर कायम गराउन तत्काल अपनाउन सकिने उपायमा काम थालनी गर्न बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले निर्देशन दिएको छ ।
आइतबार काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको समितिको बैठकले अनुगमनबाट प्राप्त अवस्थाका विषयमा जानकारी लिएपछि कृषि तथा पशुपंक्षी विभागका अधिकारीलाई कामका लागि निर्देशन दिएको हो ।
समितिको निर्देशन छ, ‘बजारबाट संकलन गरिएका नमूना परीक्षणका लागि महानगरले आफ्नै प्रयोगशाला स्थापना र सञ्चालनका लागि तत्काल काम थालनी गर्नू ।’
भदौ १० गतेसम्ममा गरिएका ९ वटा अनुगमनका क्रममा चुहिने, कोत्रिएका २८ वटा र पानी भरिएको एउटा जार जफत भएको छ । परीक्षणका लागि पानी भरिएका ६ वटा जार संकलन गरिएको छ ।
उपप्रमुख सुनिता डंगोलले भनिन्, ‘हाम्रो चाहना भनेको स्वच्छ खानेकुराको उत्पादन, ढुवानी, सञ्चय तथा बिक्री प्रणाली मात्र हो । यस प्रणालीमा किसानदेखि व्यापार गर्नेहरू सबैको लाभ हुने व्यवस्था मिलाउनुपर्छ तर प्रणाली मिलाउँदा–मिलाउँदै बजारलाई अस्वच्छ र उपभोक्ताको स्वास्थ्य, मूल्य र गुणस्तरमा कहीँ कतैबाट गल्ती गर्न पाइँदैन ।’
बैठकमा १८ नम्बर वडाका अध्यक्ष न्हुच्छेकाजी महर्जनले पानीको स्वच्छताको विषय उठाउँदै भने, ‘सरकारले वितरण गर्ने पानीको गुणस्तरमा नागरिकलाई विश्वस्त बनाउन सक्ने हो भने बजारबाट पानी किनेर खानु पर्दैन । यसबेला बजारमा पाइने पानीको नियमन सजिलो हुन्छ । खानेपानी वितरणमा चाबी खोल्नेहरूले लापरवाही गर्दा कतै धेरै पानी जान्छ, कतै थोरै जान्छ । कतै पानी नै जाँदैन । यो असन्तुलन कसरी मिलाउन सकिन्छ ? साझेदारसँग छलफल गर्नुपर्ने भएको छ । यो पानीको व्यापारसँग जोडिएको विषय हो ।’
खाद्य ऐन २०२३ ले खाद्य पदार्थको उत्पादन, बिक्री वितरण, सञ्चय वा प्रशोधन गर्न चाहने व्यक्तिले तोकिएबमोजिम अनुज्ञापत्र लिनुपर्ने व्यवस्था गरेको छ ।