काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले धरान उपमहानगरपालिकामा सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ ।
आयोगले साम्प्रदायिक हिंसा भड्किन सक्ने र शान्ति सुरक्षा खल्बलिन सक्नेतर्फ संवेदनशील हुँदै संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न सम्बद्ध सबै पक्षलाई अपिल गरेको छ ।
वार्ताको माध्यमबाट एकआपसमा देखिएका विमतिमा समाधान खोज्न आयोगले सबै पक्षलाई आग्रह गरेको छ । धरान उपमहानगरपालिका क्षेत्रमा केही दिनअघि गोरु काटेको र हिन्दू मन्दिर अगाडि चर्च बनाएको विषयलाई लिएर स्थानीयले शनिवार र्याली निकाल्ने तयारी गरिरहँदा साम्प्रदायिक, सामाजिक, सांस्कृतिक एवं राजनीतिक हिंसा भड्किन सक्ने सम्भावित घटना रोक्न सबै भेला तथा कार्यक्रमहरू रोकिएको आयोगले अनुगमनको क्रममा बुझेको जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार राति १२ बजेदेखि २४ घण्टाका लागि धरान उपमहानगरपालिका क्षेत्रमा निषेधादेश जारी गर्दा उत्पन्न परिस्थितिप्रति ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।
आयोगले संवेदनशील विषयमा विभिन्न माध्यमबाट जानकारी लिनुका साथै अनुगमन गरिरहेको आयोगका प्रवक्ता तथा सहसचिव डा. टीकाराम पोखरेलले जनाएका छन् ।