आज कोशी र मधेश प्रदेशमा भारी वर्षा हुने, कस्तो छ पूर्वानुमान ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज शनिवार कोशी र मधेश प्रदेशमा भारी वर्षा हुने जनाएको छ ।

शनिवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित रहेको जनाएको छ ।

नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरपूर्वी भूभागमा रहेको न्यून चापीय क्षेत्र र बंगलादेशको उत्तरी भूभागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेकाले बदली र वर्षा गराएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेश, गण्डकी र बागमती प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका १–२ स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

शनिवार दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेश र बागमती प्रदेशका केही स्थान र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मयम वर्षाको सम्भावना रहेको छ । कोशी र मधेश प्रदेशका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

शनिवार राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका १–२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित
Loading...