काठमाडौं महानगरमा निःशुल्क उपचार सम्बन्धी कार्यविधिको मस्यौदा तयार

काठमाडौं । काठमाडौं महानगरपालिकाले लक्षित वर्गको निःशुल्क उपचारलाई प्रणालीमा आधारित, व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउन कार्यविधिको मस्यौदा तयार गरेको छ ।

स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड २०७७ बमोजिम लक्षित वर्ग (विपन्न, असहाय, बेवारिसे) व्यक्तिको निःशुल्क उपचारका लागि कूलमध्ये १० प्रतिशत शय्या उपलब्ध गराउने व्यवस्था कार्यान्वयनका विधि, प्रक्रिया र दायित्वहरू मस्यौदामा राखिएका छन् ।

कार्यविधिमा अनुगमन मूल्यांकनलाई मार्गनिर्देश गर्न महानगरपालिकाका प्रमुखको संयोजकत्वमा व्यवस्थापन समितिको प्रस्ताव गरिएको छ । समितिमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत सदस्य रहनेछन् । स्वास्थ्य मन्त्रालय (संघ र प्रदेश), मेडिकल काउन्सिल, नर्सिङ काउन्सिल, सरकारी अस्पताल र निजी अस्पतालको छाता संगठनबाट प्रतिनिधि रहनेछन् ।

अस्पतालहरूमा उपचारको समन्वय र सहजीकरणका लागि महानगरपालिकामा चिकित्सक सहितको निःशुल्क उपचार सेवा इकाई हुनेछ । इकाईमा सबै अस्पतालहरूमा उपलब्ध निःशुल्क शय्याको संख्या, उपयोग, रोग अनुसारको चिकित्सक सेवा सम्बन्धी विवरण हुनेछ । तथ्यांक र सेवाका आधारमा उपचारका लागि अस्पताल र बिरामीबीच समन्वय र सहजीकरण गर्ने काम इकाईको मुख्य जिम्मेवारी हुनेछ । यस प्रक्रियाका लागि बिरामीले वडालाई सिफारिसका लागि दिने निवेदन, स्थानीय तहले उपचारका लािग गर्ने सिफारिस, वडाले गर्ने सर्जमिन, बिरामीलाई उपचार दिँदा भर्नुपर्ने फाराम, दैनिक रजिस्टर, उपचार गर्ने बिरामी वा निजको आफन्तबाट प्राप्त गर्नुपर्ने विवरण, प्रतिवेदन लगायत आवश्यक प्रक्रियाका लागि चाहिने ढाँचा अनुसूचीमा राखिएको छ ।

जनस्वास्थ्य विभागले तयार पारेको मस्यौदाका व्यवस्थामाथि क्षेत्रगत छलफल गरिँदैछ । उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा काठमाडौं प्लाजाको सभा कक्षमा आयोजना गरिएको पहिलो छलफलका लागि सरकारी अस्पतालका प्रमुखहरूलाई बोलाइएको थियो । छलफलमा महानगरपालिका स्वास्थ्य सल्लाहकार, स्वास्थ्य तथा शिक्षा समितिका पदाधिकारी, कार्यपालिका सदस्य थिए ।

सम्बन्धित
Loading...