विष्णु पौडेलले माफी पाएको ललिता निवास प्रकरणमा विजय गच्छदारको सबै सम्पत्ति रोक्का

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले माफी पाएको बहुचर्चित ललिता निवास प्रकरणमा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारको सबै सम्पत्ति रोक्का गरिएको छ ।

ललिता निवास प्रकरणमा जोडिएका सबैको सम्पत्ति छानबिन गर्ने भन्दै सरकारले पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारको सम्पूर्ण सम्पत्ति रोक्का गरेको छ ।

प्रधानमन्त्री कार्यालय अन्तर्गतको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौं, सुनसरी र मोरङमा रहेको गच्छदारको सम्पत्ति रोक्का गरेको छ । गच्छदारसहित ललिता निवास जग्गा प्रकरणमा संलग्नमाथि विभागले सम्पत्ति छानबिन गरिरहेको छ । जग्गा प्रकरणमा संलग्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातको यसअघि नै विभागले सम्पूर्ण सम्पत्ति रोक्का गरेको थियो । विभागले यसमा संलग्न पूर्व मन्त्री र कर्मचारीविरुद्ध छिट्टै मुद्दा दायर गर्ने तयारी गरेको जनाइएको छ ।

ललिता निवासको जग्गा नै आफ्ना छोराको नाममा गर्न सफल कम्युनिस्ट नेता पौडेललाई भने जग्गा फिर्ता गर्ने शर्तमा अख्तियारले माफी दिएको छ । जसको नाममा ललिता निवासको जग्गा नै छैन, उहाँहरूमाथि अख्तियार लगायत विभिन्न निकायले छानबिन गरिरहेका छन् ।

ललिता निवास प्रकरणमा पूर्व उपप्रधान तथा तत्कालीन भौतिक निर्माणमन्त्री गच्छदार, पूर्व मन्त्रीद्वय डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी, अख्तियारका पूर्व प्रमुख आयुक्त बस्न्यात, पूर्व मन्त्री एवं सचिव छविराज पन्त, दिनेशहरि अधिकारीसहित ६ विशिष्ट श्रेणीका पदाधिकारी लगायत १७५ जनाविरुद्ध अख्तियारले चलाएको मुद्दा विशेष अदालतमा विचाराधीन रहेको छ । २०७६ माघ २२ गते भ्रष्टाचार आरोपमा ११० जनालाई मुद्दा दायर गरिएको थियो भने ६५ जनाविरुद्ध सरकारी जग्गा जफत गर्ने प्रयोजनका प्रतिवादी बनाएर मुद्दा चलाइएको थियो । विष्णु पौडेल र उनका छोरालाई प्रतिवादी बनाइएको छैन ।

बालुवाटारको १३६ रोपनी सरकारी जग्गा व्यक्तिको नाम दर्ता गराएको आरोपमा मुद्दा चलाइएको छ । विभागका महानिर्देशक रुपनारायण भट्टराईले अनुसन्धान भइरहेकाले थप भन्न नमिल्ने बताउनुभयो ।

सम्बन्धित
Loading...