काठमाडौं । नेपाल मानव धर्म सेवा समितिको आयोजनामा पर्सी शुक्रवार ‘ग्लोबल भक्ति संगीत उत्सव २०७७’ हुने भएको छ ।
बुधवार भर्चुअल पत्रकार सम्मेलन गरी समितिले कोरोना भाइरसको महामारीको असहज परिस्थितिको चपेटामा परेका मनलाई सांगीतिक राहत प्रदान गर्ने तथा नेपाली गीत संगीतलाई प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएकोे जनाएको छ ।
जुममार्फत हुने भक्ति संगीत उत्सवमा नेपालसहित १७ वटा देशका कलाकारको प्रस्तुति रहनेछ । नेपालसहित, भुटान, बेलायत, क्यानडा, दुबई, भारत, अमेरिका, मोरिसस, केन्या, अस्ट्रेलिया लगायतका देशका कलाकारले उत्सवमा प्रस्तुति दिनेछन् । कार्यक्रममा भक्ति संगीतका साथै सांस्कृतिक नृत्यहरू पनि समावेश गरिने समितिका केन्द्र प्रमुख महात्मा चमेली बाइजीले बताउनुभयो ।
‘कार्यक्रमले मानव मनलाई आनन्द र शान्ति प्रदान गर्नुका साथै नेपाली लोकबाजा र संस्कृतिको प्रवद्र्घन, परम्परागत गायनको प्रचारप्रसार र नेपाली गीत–संगीतप्रति युवा पुस्तालाई आकर्षित गर्न सहयोग पुग्नेछ,’ उहाँले भन्नुभयो ।
शुक्रवार साँझ ५ बजेदेखि शुरू हुने उत्सवमा आनि छोइङ डोल्मा, वरिष्ठ गिटारिस्ट अनिल शाही, श्याम नेपाली, सीतामैया एण्ड संगम श्रुती ब्याण्ड, मेट्रोनोम ब्याण्ड लगायतले प्रस्तुति दिनुहुनेछ ।
नेपालका परम्परागत खैजडी, तामाङ सेलो, कौडा लगायतका मौलिक सांस्कृतिक प्रस्तुति पनि कार्यक्रमका आकर्षण रहने जनाइएको छ । २९ वटा प्रस्तुति रहने कार्यक्रममा जुममार्फत संसारभरबाट सहभागी हुन सकिने समितिले जनाएको छ ।
कार्यक्रममा जोडिन जुममा ‘मिटिङ आईडी’ ८९१३४८८२३४५ र ‘पासकोड’ १२३४५ रहेको छ ।