काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिका घर भएका युवा समाजसेवी केपी खनाल भारतको नयाँदिल्लीमा ‘युथ आइकन २०२०’ अवार्डबाट सम्मानित हुनुभएको छ ।
कलिलो उमेरदेखि नै गाउँघरमा समाजसेवामा सक्रिय खनाललाई राइजिङ्ग टुंकल फाउन्डेसनले गान्धी जयन्तीको अवसरमा सम्मानित गरेको हो ।
शुक्रबार आयोजित गान्धी जयन्तीको कार्यक्रममा २० वर्षीय खनाल सम्मानित हुनुभएको छ । कैलालीको लम्कीचुहा नगरपालिकाका स्थायी वासिन्दा खनाल समाजसेवाका लागि आपतविपतमा परेका विभिन्न क्षेत्रमा पुग्ने गर्नुभएको छ । निरन्तरको समाजसेवाले उहाँले समाजमा स्थापित छवि बनाउनुभएको छ ।
सम्मान ग्रहण गर्दै खनालले समाजसेवा र सहयोगका लागि देश नहेरेर मानवता हेर्नुपर्ने बताउनुभयो । उहाँ अनुसार अन्तर्राष्ट्रिय क्षेत्रमा सम्मानित हुँदा आफूलाई थप हौसला मिलेको छ ।
आर्थिक अवस्था कमजोर भएर पनि बलियो इच्छाशक्तिका कारण खनालले विभिन्न दाताबाट सहयोग जुटाएर गरीब परिवारलाई सहयोग गर्दै आउनुभएको छ । कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनका बेला दैनिक ज्यालादारी र मजदुरी गुमाएर भोकै बस्नुपर्ने अवस्थामा रहेका गरीब परिवारलाई खनालको पहलमा सहयोग गरिएको थियो ।
खनालको नेतृत्वमा ‘क्लिन काष्ठमण्डप’, ‘हेल्प फर निडी अभियान’ लगायत सञ्चालन भएका छन् । कार्यक्रममा सहभागी हुन पैसा नभएपछि धनगढी उपमहानगरपालिकाका नगर प्रमुख (मेयर) नृप वडसँग आर्थिक सहयोग लिएर खनाल नयाँदिल्ली जानुभएको थियो ।