भारतीय कंग्रेसमा उथलपुथल, गान्धी परिवार बाहिर जाँदै नेतृत्व

काठमाडौं । सन् २०१९ को आमचुनावमा पार्टी पराजित भएपछि भारतीय कंग्रेसका अध्यक्ष राहुल गान्धीले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुभएको थियो । राजीनामा दिँदै राहुलले पार्टी अध्यक्ष गैरगान्धी परिवारबाट हुनुपर्ने माग समेत गर्नुभएको थियो ।

तर पार्टीका शीर्ष नेताले अन्तरिम अध्यक्षमा राहुलकी आमा सोनिया गान्धीलाई नै चुने । त्यतिबेला गैरगान्धी परिवारबाट पार्टी नेतृत्व चयन हुन सकेन ।

अब सोनियाले समेत पार्टी नेतृत्व छाड्नै चर्चा चलेको छ । भारतीय सञ्चारमाध्यम आजतकका अनुसार सोनियाले अध्यक्ष पद छाड्दा राहुल अध्यक्ष हुने छैनन् । उहाँले पहिल्यैदेखि गैरगान्धी परिवारबाट पार्टी अध्यक्ष हुनुपर्ने माग गर्दै आउनुभएको छ ।

सोनियाले छाडेर गैरगान्धी परिवारका व्यक्ति अध्यक्ष भइसकेपछि भने राहुल पुनः पार्टी अध्यक्ष हुनसक्ने जनाइएको छ । राहुललाई पुनः अध्यक्ष बनाउन बीचमा कुनै अरु व्यक्तिलाई अध्यक्ष बनाउने चर्चा भारतीय कंग्रेसभित्र छ । समर्थकहरूले युवा पिँढीबाट राहुलले नै पुनः अध्यक्ष हुनुपर्ने माग उठिरहेका बेला त्यसका लागि उपाय निकाल्न थालिएको छ ।

अध्यक्ष सोनियाले नेतृत्व छाड्दा तत्कालै पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंह वा एके एन्टनीलाई पार्टी अध्यक्ष बनाउने चर्चा छ । यीमध्ये कुनै एक व्यक्ति अध्यक्ष भइसकेपछि भने पुनः राहुल नै अध्यक्ष हुने जनाइएको छ ।

त्यतिबेला राहुलले राजीनामा दिएपछि सोनियालाई एक वर्षका लागि अन्तरिम अध्यक्ष बनाइएको थियो । सोनियाले आफ्नो कार्यकाल पूरा भइसकेकाले अब अर्काे अध्यक्ष चुन्न पार्टीका शीर्ष नेतालाई सन्देश दिइसक्नुभएको छ । कंग्रेसमा पूर्णकालीन अध्यक्ष चुन्नुपर्ने माग हुँदै आएको छ ।

Loading...