काठमाडौं । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र जनयुद्धताका उकाली–ओराली र गाउँबस्ती खुबै हिँडेका नेता हुनुहुन्छ, उमेशप्रसाद भट्ट ‘विकास’ । राज्यले प्रतिबन्ध लगाएका बेला लुकीछिपी जनताबीच हिँड्नुपर्ने भएकाले नेता भट्टले जनताका दुःख, पीर, मर्का राम्रोसँग नजिकबाट देख्न पाउनुभयो । जनताका अनेक समस्यामध्ये नेता भट्टको मनमा गढेको समस्या हो, स्वास्थ्य समस्या ।
२०६१ सालतिर देशमा संकटकालमा लगाइएको थियो । नेता भट्ट म्याग्दी कार्यक्षेत्रमा खटिनुभएको थियो । ‘मंसिर–पुसको चिसो महिना थियो । एक जना सुत्केरी हुन लागेकी महिलालाई आफन्तले खाटमा बोकेर अस्पतालतिर लगिरहेका थिए । रक्तश्राव भइरहेको थियो । अलि पर पुगेपछि ती महिलाको मृत्यु भयो,’ नेता भट्टले सम्झिनुभयो, ‘यो घटनाले मलाई सधै झक्झक्याइरहन्थ्यो । राज्य सञ्चालन गर्ने ठाउँमा पुगियो भने जनतालाई यी समस्याबाट मुक्त गर्नुपर्छ भन्ने सोच हुन्थ्यो ।’
गर्भवती र सुत्केरी अवस्था अहिले पनि धेरै ठाउँमा संवेदनशील र जोखिमयुक्त अवस्था रहेको छ । स्वास्थ्य संस्थासम्म पहुँच नहुनु, गर्भ जाँचका लागि अल्ट्रासाउण्ड सेवा सर्वसुलभ नहुनु, दुर्गम क्षेत्रमा स्वास्थ्य संस्था नहुनु लगायत कारणले अहिले पनि कतिपय महिलाको ज्यान गइरहेको छ । तर नेता भट्टले आफू कार्यरत क्षेत्रमा यो समस्यालाई हटाउने प्रयत्न गर्नुभएको छ ।
जनयुद्धताका राज्य सञ्चालन गर्ने ठाउँमा पुगियो भने जनताका समस्या हल गर्ने विषयमा कल्पना गर्ने नेता भट्ट हाल डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिकामा अध्यक्ष हुनुहुन्छ । उहाँले जनताको स्वास्थ्य समस्या समाधानका लागि के–के गर्नुभएको छ ?
‘स्वास्थ्य क्षेत्रका समस्या हल गर्न एउटा गर्भवती र सुत्केरी महिलालाई लक्षित गरी ग्रामीण अल्ट्रासाउण्ड सेवा सञ्चालन गरिएको छ भने रोगको पहिचान गर्न वडावडामा प्रयोगशाला सेवा सञ्चालन गरिएको छ,’ नेता भट्टले भन्नुभयो, ‘गर्भपति र सुत्केरीको सम्भावित जोखिम र अन्य रोग जटिल हुनुअघि नै पहिचान हुने गरेको छ ।’
गर्भवतीलाई घरनजिकै सुविधा
अजयमेरु गाउँपालिका–६ भुरीकी गर्भवती मनिषा खड्का घरबाट आधा घण्टा पैदल हिँडेर देवल स्वास्थ्य चौकीमा गर्भ जाँच गराउनुहुन्छ । २०७६ पुस महिनादेखि ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम अन्तर्गत गाउँपालिकाका देवल र भद्रपुर स्वास्थ्य चौकीबाट गर्भवतीले गर्भ जाँच सेवा लिइरहेका छन् । ‘हामीले यस सेवाबाट धेरै सुविधा पाएका छौं । बच्चा र मेरो स्वास्थ्य अवस्थाबारे जानकारी गाउँमै पाएका छौं,’ उहाँले भन्नुभयो, ‘विगतमा कच्ची बाटोले गाडीमा सदरमुकाम गएर यात्रा गर्न गाह्रो हुने भएकाले चेकजाँच नै नगरी सुत्केरी हुँदा मातृ र शिशु दुवैको स्वास्थ्य जोखिममा पर्ने अवस्था थियो ।’
गाउँपालिकाले अल्ट्रासाउण्ड सेवा सुरू गर्नुअघि जिल्ला सदरमुकाम अमरगढी गएर सेवा लिनुपर्ने बाध्यता थियो । टाढा, धेरै भीडभाड र झन्झटिलो सेवा भएकाले अधिकांश गर्भवती चेकजाँच नै नगरी सुत्केरी हुँदा जोखिम हुन्थ्यो । अहिले गाउँपालिकाले देवल र भद्रपुरबाट अल्ट्रासाउण्ड सेवा निःशुल्क दिइरहेको छ ।
‘देवलबाट सेवा लिन आउने सबैभन्दा टाढाका गर्भवती वडा नम्बर ६ भण्डारी गाउँका छन्, हिँडेर ४–५ घण्टामा देवल पुगिन्छ, एकै दिनमा गर्भ जाँच गरेर घर फर्किन सकिन्छ,’ गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले भन्नुभयो, ‘यसअघि सदरमुकाम गएर गर्भ जाँच गर्न कम्तिमा पनि ३ दिन छुट्याउनुपर्थ्यो । भीडभाड धेरै हुने भएकाले गर्भवतीलाई आउजाउ गर्न कठिन समेत हुन्थ्यो ।’ देवलबाट गाउँपालिका–५ र ६ अर्थात् साविवको देवलदिव्यपुरका वासिन्दाले सेवा लिन्छन् ।
भद्रपुरबाट वडा नम्बर–२, ३, ४ अर्थात् अजयमेरु, भद्रपुर र चिपुरका वासिन्दाले सेवा लिने गरेका छन् । ‘भद्रपुर आउन सबैभन्दा टाढा वडा नम्बर–२ बसाना र वडा नम्बर–४ धारीबाट पैदल हिँडेर २–३ घण्टामा पुग्न सकिन्छ,’ भट्टले भन्नुभयो, ‘हाल वडा नम्बर–१ का वासिन्दाले नजिक गर्ने भएकाले सदरमुकामबाटै सेवा लिने गरेका छन् । त्यस वडाका लागि छिट्टै चमडामा सेवा थप्ने तयारी छ । मशिन व्यवस्था भइसकेकाले जनशक्तिलाई तालिम दिएर सेवा सञ्चालन गरिने छ ।’
नेपाल सरकारको मापदण्ड अनुसार बच्चा गर्भमा रहेको अवधिभर ४ पटक गर्भ जाँच गर्नुपर्ने व्यवस्था अनुसार गुणस्तरीय सेवा दिँदै निःशुल्क गर्भ जाँच गर्ने गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख सिनियर अहेब अधिकृत हिकमत कठायतले बताउनुभयो । उहाँका अनुसार गर्भ रहेको ४, ६, ८ र ९ महिनामा गर्भ जाँच गरिन्छ । पुसयता दुवै स्वास्थ्य चौकीबाट १५९ जनाले सेवा लिएका छन् ।
‘मशिन र जनशक्ति व्यवस्थापन भएपछि अल्ट्रासाउण्ड सेवा दिन खासै खर्च छैन । नियमित खर्च हुने भनेको ‘जेल’ (अल्ट्रासाउण्ड गर्दा पेटमा लगाउने पदार्थ) र रिपोर्ट प्रिन्ट गर्ने कागज हो,’ उहाँले भन्नुभयो, ‘हाल २ ठाउँमा मात्रै रहेको यो सेवालाई हामीले गाउँपालिकाभरि हरेक वडामा घुम्ती रूपमा सञ्चालन गर्ने योजना थियो । कोरोना भाइरस संक्रमण रोक्न गरिएको लकडाउनले घुम्ती अल्ट्रासाउण्ड सेवा दिन सकेनौं । कोरोना सकिएपछि घुम्ती सेवा दिन्छौं ।’
गाउँपालिकासँग हाल ३ वटा अल्ट्रासाउण्ड मशिन छन् । जसमध्ये एउटा ६ लाख रुपैयाँमा गाउँपालिकाले किनेको, एउटा प्रदेश सरकारले सहयोग गरेको र अर्काे जर्मन सहयोग संस्थाको आईएमसीसीआर परियोजनाबाट प्राप्त भएको अध्यक्ष भट्टले बताउनुभयो । ‘मशिन चलाउन जनशक्ति व्यवस्थापनका लागि गाउँपालिकामै रहेका २ जना अनमीलाई भेरी अस्पताल बाँके र सेती अस्पताल कैलालीमा पठाएर तालिम दिलायौं,’ भट्टले भन्नुभयो, ‘स्थानीय सरकारले योजना बनाएर कार्यान्वयन गर्ने हो भने जनतालाई घरदैलोमै सेवा दिनु गाह्रो छैन ।’
गर्भ जाँच सेवाले पेटभित्र रहेको बच्चाको स्वास्थ्य अवस्था र जोखिमबारे थाहा हुने भएकाले गम्भीर अवस्था आउनुअघि नै उपचार गर्न सकिने अध्यक्ष भट्टले बताउनुभयो । ‘निःशुल्क अल्ट्रासाउण्ड सेवाले मातृ र बाल मृत्युदर घटाउने छ,’ अध्यक्ष भट्टले भन्नुभयो ।
रोग यकिन गरेर औषधि दिन वडा–वडामा प्रयोगशाला सेवा
रोग पहिचान गर्ने प्रयोगशाला नहुँदा ग्रामीण क्षेत्रका मेडिकलले लक्षण र अनुमानका भरमा औषधि दिन्छन् । अनुमानको औषधि मिल्न गए रोग निको हुन्छ । तर कतिपय अवस्थामा झन् रोग बल्झिएर गम्भीर अवस्था समेत निम्तिन्छ । त्यसैले स्वास्थ्यको प्रयोगशाला परीक्षण गरेर मात्रै औषधि सेवन गर्नु उत्तम विधि मानिन्छ ।
यहीँ विधिलाई गाउँपालिकाभर लागू गराउन गाउँपालिकाले हरेक वडामा प्रयोगशाला स्थापना गरेको छ । ५ वटा वडा रहेको गाउँपालिकाका देवल, चिपुर, भद्रपुर, चमडा र समैजी स्वास्थ्य चौकीबाट २०७४ पुसदेखि प्रयोगशाला सेवा प्रवाह भइरहेको छ । अध्यक्ष भट्टले स्थानीय तह निर्वाचनको प्रचारप्रसारका क्रममा चुनावी घोषणा पत्रमा प्रयोगशाला स्थापना गर्ने वाचा गरेका थिए । गाउँपालिकाको प्रथम गाउँसभाले २०७४ साउन ३२ गते प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो ।
अजयमेरु गाउँपालिका–२ की द्रोपती महराले गाउँघरमै प्रयोगशाला सेवा पाएपछि रोग पत्ता लगाउन सहज भएको बताउनुभयो । ‘पहिले सामान्य चेकजाँच गर्न पनि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता थियो । समय र पैसा दुवैको नोक्सानी भइरहेको थियो,’ उहाँले भन्नुभयो, ‘गाउँमै उपचार गर्दा अन्दाजको भरमै औषधि खान पर्थ्यो । अहिले यी समस्याहरू समाधान भएका छन् । यसले हामीलाई गाउँमा सिंहदरबार आएको अनुभूति भएको छ ।’
गाउँपालिकाका वडा–वडामा रहेका प्रयोगशालामा रगत, खराब र दिशापिसाब जाँच गरेर रोग पत्ता लगाउने गरिएको स्वास्थ्य शाखा प्रमुख हिकमत कठायतले बताउनुभयो । उहाँका अनुसार मधुमेह, युरिक एसिया, मिर्गाैला, कलेजो, कमलपित्त, टाइफाइड, मलेरिया, टीबी, गर्भ जाँच लगायतबारे प्रयोगशालामा परीक्षण हुने गरेको छ । आन्द्रा, पेट, पाचनप्रणाली, जुका, आन्तरिक रक्तश्राव, एचआईभी, यौनरोग जस्ता परीक्षण समेत प्रयोगशालामा हुने गरेका छन् ।
‘गाउँपालिकाले निर्धारण गरेको सुपथ मूल्यमा प्रयोगशाला सेवा प्रदान गरिन्छ । हाम्रो दररेट सदरमुकाम र अन्यत्रका सरकारी अस्पतालभन्दा कम रहेको छ,’ उहाँले भन्नुभयो, ‘यसबाट संकलित रकम प्रयोगशालाकै सामग्री खरिदमा खर्च गर्ने गरिन्छ ।’ गत आर्थिक वर्षमा प्रयोगशालाबाट ३ हजार ३१५ जनाले सेवा लिएका छन् ।
प्रयोगशाला शुल्क स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिको बैंक खातामा जम्मा गरी समितिकै निर्णयबाट सेवा सञ्चालनका लागि आवश्यक ल्याब रिएजेन्टहरू खरिद गर्नु खर्च हुने गरेको छ । स्थानीय तहमै प्रयोगशाला सम्बन्धी कार्यविधि बनाएर सेवा सञ्चालन गरिएको अध्यक्ष भट्टले बताउनुभयो । ‘सेवा प्रदायकलाई जोखिम भत्ता दिने व्यवस्था गरिएको छ भने प्रयोगशाला सेवा सञ्चालनका लागि मासिक ७५ हजार रुपैयाँ गाउँपालिकाको स्रोतबाट व्यहोर्ने गरिएको छ,’ उहाँले भन्नुभयो । प्रयोगशाला सेवा सञ्चालनका लागि गाउँपालिकाले ५ जना ल्याब असिस्टेन्ट करार सेवामा नियुक्त गरेको छ । ‘जनशक्तिलाई आवास सुविधा समेत दिएका छौं,’ अध्यक्ष भट्टले भन्नुभयो ।
अध्यक्ष भट्टले प्रयोगशाला सेवालाई प्राथमिकतामा राख्नुको पछाडि आफूले देखेको घटना सुनाउनुभयो । ‘गाउँमा ७ दिनसम्म ज्वरो आएर एक जना मान्छे मरे, ज्वरोको सामान्य उपचार गराउँदा निको हुन सकेन,’ उहाँले भन्नुभयो, ‘मृत्युपछि चिकित्सकले कालाजार हुनसक्छ भन्ने अनुमान लगाए । त्यतिबेला प्रयोगशाला सेवा लिएको भए बिरामीले समयमै सही उपचार पाएर ज्यान गुमाउनुपर्ने थिएन ।’
बुढापाकामा झारफुकलाई विश्वास गर्ने अवस्था अझै भए पनि गाउँमै प्रयोगशाला हुँदा मेडिकल चेकजाँच सेवाको विकल्प समेत रोज्ने गरेका अध्यक्ष भट्टले बताउनुभयो । ‘बिरामीलाई अस्पताल लैजानुपर्छ, झारफुक गर्नुहुन्न भनेर जनचेतना जगाएर मात्रै हुँदैन, स्रोतसाधनसहित जनतालाई विकल्प दिनुपर्छ,’ उहाँले भन्नुभयो, ‘चेकजाँचको विकल्प टाढा हुँदा जनताले गाउँघरमै सजिलो झारफुकको विकल्प रोज्छन् । तर गाउँमै प्रयोगशाला खुलेपछि दुवैतिर जान्छन्, प्रयोगशालामा आएका बिरामीको रोग पत्ता लागेर सही उपचार पाउँछन् ।’