काठमाडौं । देशको नक्सा सच्चियो । सच्चिएको चुच्चे नक्सा समेटेर संसद्ले सांसदको छातीमा राख्ने लोगो फेर्यो ।
जुन संसद्ले संविधान संशोधनै गरेर देशको नक्साको त्रुटि सच्यायो, त्यही संसद्ले आफ्नै लोगो भने त्रुटि नै त्रुटियुक्त बनाएको छ ।
सुन र चाँदीको सम्मिश्रणबाट बनाइएको लोगोमा नक्साको स्वरूप र संघीय संसद् शब्द गलत ढंगले प्रयोग गरिएका छन् । लिम्पियाधुरासहितको नक्सा समेटेर तयार पारिएको लोगोमा मुलुकको नक्सा भने हेर्दै नेपालको जस्तो छैन ।
वास्तविक नक्सामा पश्चिम भाग उठेको र पूर्वी भाग अलि तल झुकेको छ । तर लोगोमा नक्सा सीधा राखिएको छ । त्यो पनि आयतकार । यस्तै लोगोको तल्लो भागमा लेखिएको संघीय शब्दमा ‘सघीय’ मात्र छ । संसद्को द मा हलन्त दिन छुटाइएको ‘संसद’ लेखिएको छ ।
संसद् सचिवालयका महासचिव भरत गौतमका अनुसार २ लाल सुनको जलपमा १ तोला चाँदीको लेप लगाई ५ हजार ५२७ रुपैयाँमा प्रत्येक लोगो निर्माण भएको हो । सचिवालयका अनुसार साढे ३०० वटा लोगो बनाउन झण्डै २० लाख रुपैयाँ खर्च भएको छ । वाग्मती प्रदेशअन्तर्गत घरेलु तथा साना उद्योग कार्यालयले नयाँ लोगो निर्माण गरेको हो ।
सचिवालयका सहप्रवक्ता दशरथ धमलाका अनुसार टेकवीर मुखियाले यसको डिजाइन गरेका हुन् । करीब डेढ महिना लगाएर कलाकारहरूले हातैले कुदेर नयाँ लोगो बनाएका हुन् । मुखियाले यसअघि संसद्ले प्रयोग गर्दै आएका लोगोको पनि डिजाइन गरेका थिए ।
सचिवालयले आईतबारै सभामुख अग्नि सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सेना र राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहाललाई नयाँ लोगो हस्तान्तण गरेको छ । त्रुटि भेटिएको उक्त लोगो सचिवालयले आईतबारदेखि नै सांसदहरूलाई पनि वितरण गरेको छ । नयाँ लोगो एक पटकलाई सांसदलाई निःशुल्क वितरण गरिने र दोस्रो पटक लिन चाहे सशुल्क उपलब्ध गराइने सचिवालयले जनाएको छ ।
कानूनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले नयाँ लोगोमा देखिएका त्रुटिबारे संसद् सचिवालयका अधिकारीहरूको ध्यानाकर्षण गराइसकेको स्रोतले बतायो । ‘यत्रो खर्च गरेर बनाएको लोगोमा त्रुटि भेटिएपछि के गर्ने भन्नेमा सचिवालय नै अलमलमा छ,’ सचिवालयका एक उच्च अधिकारीले भने, ‘यस विषयमा पदाधिकारीहरूले निर्णय गर्नुपर्ने हुन्छ ।’
(अन्नपूर्ण पोस्ट दैनिकमा नरेन्द्र साउदले लेख्नुभएको छ ।)